थप ४७६ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु, उपत्यकामा ८ जनामा संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् ।
थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो ।
त्यही दिन स्वाब संकलन गरेर पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यही राति उनको मृत्यु भयो भने १४ गते कोरोना संक्रमण भएको रिपोर्ट आएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
कहाँ कहाँ थपिए संक्रमित ?
मन्त्रालयका अनुसार सबैभन्दा धेरै संक्रमित डोटीमा ९६ जना थपिएका छन् । बाजुराका ६४ जना, दाङका ५८, अर्घाखाँचीका ३८, बाजुराका ३२, कैलालीका ३०, पाल्पाका २६, गुल्मीका २०, रौतहटका १८, सप्तरीका १५, बाग्लुङका १४ र पर्वतका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, तनहुँका ९ जना, स्याङ्जाका ८, धनुषाका ६, गोरखा, प्युठान र रुपन्देहीका ५/५ जना, प्युठान, चितवन र महोत्तरीका ४/४ जना, कपिलवस्तु, धादिङ, डोल्पा र कालीकोटका २/२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, पर्सा, मोरङ, धनकुटा, खोटाङ, काभ्रे, मकवानपुर, रोल्पा, बारा र रुकुम पश्चिमका एक/एक छन् ।
काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण
सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एकरएक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।