नेकपा बैठक सञ्चालनको जिम्मा प्रचण्डलाई, प्रधानमन्त्री अन्य काममा व्यस्त
काठमाडौं : नेकपा स्थायी कमिटी बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएको छ । बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमै बसिरहेको छ।
बैठक सञ्चालनको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई दिएर प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमै अन्य काममा व्यस्त भएका हुन् ।
बैठकको दोस्रो दिन आजबाट नेताहरूले बैठकका एजेण्डामा केन्द्रित रहेर धारणा राख्ने क्रम सुरु भएको छ।
बैठकको पहिलो दिन नै प्रधानमन्त्रीले आफ्ना धारणा राखेर सदस्यहरूलाई कार्यसूचीमा केन्द्रित भई कुरा राख्न भनिसकेको र उनीहरूले राखेका धारणा प्रधानमन्त्रीसम्म आइपुग्ने भएकाले अन्य काममा व्यस्त भएको ओली निकट स्रोतले जनाएको छ ।
दुई अध्यक्षबीचको सल्लाहअनुसार नै बैठकको अध्यक्षता प्रचण्डले गर्ने र महासचिव पौडेलले बैठक सञ्चालन गर्ने तय भएको नेकपा स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओली यसअघि पुसमा बसेको धुम्बाराहीको स्थायी कमिटी बैठकमा पनि अनुपस्थित भएका थिए ।