नेकपाको बैठक आज बस्दै, एमसीसीलगायत सरकारको गम्भीर समिक्षा हुने
नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटि बैठक आज शुक्रबारबाट फेरि बस्दै छ ।
बैठकको एजेन्डामा एमसीसीलगायत राखिएपनि मुख्यत सरकारको गम्भीर समिक्षा हुने भएको छ ।
१० असारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोलेर आजसम्मका लागि स्थगित गरिएको बैठकमा आजबाट नेताहरुले बोल्ने क्रम चल्नेछ ।
बैठक विषयान्तर हुँदै प्रधानमन्त्री केपी शर्मा ओली सरकारमा रहने या नरहने भन्ने बहसमा पुग्ने अवस्था बनेको छ ।
यसको संकेत अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले गरिसकेका छन् ।प्रचण्डले ओलीलाई बालुवाटारमा भेटेर सरकारबाट हट्न भनिसकेका छन् ।
उनले स्थायी कमिटि बैठकमा बोल्ने क्रममा घुमाउरो तरिकाले त्यस्तै सन्देश दिए । एमसीसीको नाममा ओलीलाई सरकारबाट हटाउने रणनीतिमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम लागिसकेका छन् ।
उनीहरुले यसपटक बलियो समुह बनाएका छन् । यो समुह यताउता नभए यसपटक ओलीलाई सामना गर्न कठिन भएको छ ।
स्थायी कमिटिमा सरकारको समिक्षामा विशेष तयारीका साथ ओलीइतरका नेताहरु जाँदैछन् । यसले बैठकमा गर्मागर्मी बहस हुने सम्भावना बढेको छ ।