नेकपाको स्थायी कमिटि बैठक धुम्बाराहीमा जारी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठक जारी छ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र सरकारको कामकारवाही बारे सघन छलफल भैरहेको छ ।
एमसीसीलाई लिएर नेकपा भित्रै विवाद रहेको छ । यहि असार १६ गते भित्र एमसीसी पारित गर्नु पर्ने समय सीमा रहेको र अब असार १७ गते मात्रै संसद बैठक बस्ने परिवेशकाबिच हुन लागेको नेकपाको स्थायी समिति बैठकलाई महत्वका साथ लिइएको छ ।
गएको वैशाख २५ गतेका लागि तय भएको स्थायी समिति बैठक अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए ।
मंगलबारको बैठकमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल खेमामा ओली पक्षविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा छन् ।
प्रचण्ड र नेपाल पक्षले सरकारको काम प्रभावकारी नभएको, जनताको अपेक्षा अनुसार काम गर्न नसकेको, कार्यकर्तामा निराशा बढेकोसहितका विषय बैठकमा उठाउने तयारी गरेको नेपाल पक्षका एक स्थायी कमिटि सदस्यले बताए ।
यस्तै बैठकमा पार्टी नियन्त्रण बाहिर गएर सरकार सञ्चालन गरेको विषय पनि उठाइने उनले बताए। यस्तै बैठकमा एमसीसीमाथि बिस्तारित छलफल भैरहेको स्रोतको भनाइ छ ।