Logo
२३ कार्तिक २०८१, शुक्रबार
(June 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विदेशी विवाहित महिलाले नागरिकता नपाउञ्जेल आवासीय अनुमति पत्र पाउने

फाइल तस्वीर

नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई नेपालमा सात वर्ष लगातार बसेपछिमात्रै अंगीकृत नागरिकता दिने प्रस्ताव गरेको प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिले त्यस्ता महिलाका लागि आवासीय अनुमतिपत्रको प्रस्ताव अघि सारेको छ ।

संशोधनमा ऐनको दफा ४ को उपदफा १ (ख) मा स्थायी आवासीय अनुमति पत्रको व्यवस्था गर्दै यस्तो अनुमतिपत्र पाएका महिलाले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने उल्लेख गरिएको छ ।

उपदफा १ को ग मा यी अधिकारलाई ७ बुँदामा उल्लेख गरिएको छ । आइतबार समितिको सचिवालयले नागरिकता सम्बन्धि कानून संशोधन गर्नका लागि संसदमा पेश भएको विधेयकमा थप गरेको प्रस्तावमा त्यस्ता महिलाले प्रयोग गर्न पाउने अधिकारहरुका ७ वटा बुँदा थप गरिएको छ ।

जसअनुसार यस्तो अनुमतिपत्र प्राप्त महिलाले पाउने अधिकारको व्यवस्था यसरी गरिएको छ : 

  • -चल अचल सम्पति आर्जन गर्न, भोग चलन र बेचबिखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र सम्पतिको अन्य कारोबार गर्न
  • -पेशा व्यवसाय संचालन गर्न
  • -उद्योग, व्यापार तथा व्यवसायको स्थापना र संचाल गर्न
  • -जन्म, मृत्यु, विवाह, सम्बन्धबिच्छेद, बसाइसराजस्ता व्यक्तिगत घटना दर्ता गर्न
  • -सेवाग्राहीको हैसियतले कानून बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुटजस्ता सेवा उपयोग गर्न
  • -कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाणपत्र प्राप्त गर्न र अन्य आर्थिक सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न
  • -राष्ट्रिय परिचय पत्र प्राप्त गर्न।

यी अधिकारहरुमा राजनीतिक अधिकार र सरकारी जागिरमा दरखास्त दिन पाउनेजस्ता अधिकारबारे उल्लेख गरिएको छैन । अंगीकृत नागरिकता प्राप्त गरेपछि यो अनुमतिपत्र स्वत खारेज हुने पनि यसमा व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: Jun 21, 2020

प्रतिक्रिया दिनुहोस्