विवाहलगत्तै अंगीकृत नागरिकता पाउनु पर्ने कांग्रेसको अडान कायमै, ‘नोट अफ डिसेन्ट’ लेख्ने
काठमाडौं : राज्य व्यवस्था समिति बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशी महिलाले विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने अहिलेकै प्रावधानको पक्षमा अडान दोहोर्याएको छ ।
समितिमा पार्टीका तर्फका सदस्यहरुसहितको पदाधिकारी बैठकमा कांग्रेसले यस्तो अडान दोहोर्याएको हो । पार्टीले आफ्नो माग सम्बोधन नभए लिखित असहमति नोट अफ डिसेन्ट लेख्ने तयारी समेत गरेको हो ।
कांग्रेस सांसद दिलेन्द्र वडुले नागरिकता विधेयकमा विवाद नगरी दलहरुबीच कसरी सर्वसम्मत गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल भएको बताए ।
हिजो मात्र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने निर्णय गरेको थियो ।
मधेसवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाहलगत्तै अंगीकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने अडानमा छन् । विधेयक लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेपनि सहमति जुट्न सकेको छैन ।