लिम्पियाधुरा क्षेत्रलाई समेटेर जारी गरेको संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण
लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतीय अतिक्रमणमा परेका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निसान छापमा राख्नका लागि गरिएको संविधान संशोधन विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी छन् ।
सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार प्रमाणित गरेर उक्त विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गरिएका थिए ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले राष्ट्रपतिले उक्त विधेयक प्रमाणीकरण गरेको एक विज्ञप्ति जारी गरेर जानकारी दिएका हुन् ।
‘आज मिति २०७७ साल असार ४ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ नेपालको संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम प्रमाणीकरण गर्नुभएको छ,’ प्रवक्त दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।