Logo
५ आश्विन २०८१, शनिबार
(June 16, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध साढे २ अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध २ अर्ब ६६ करोडको मुद्दा दायर गरेको छ। बैकिङ कार्यमा लागेपनि सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको भन्दै विभागले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्षसमेत रहेका श्रेष्ठविरुद्ध यसअघि बैंकिङ कसुरमा मुद्दा दायर भएको थियो।

विभागले श्रेष्ठसँग बिगो र बिगोको दोब्बर जरिवाना माग गरेको छ। श्रेष्ठलाई ५ वर्षसम्मको कैद सजाय हुनुपर्ने जिकीर पनि अभियोगपत्रमा गरिएको छ।

नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सका तत्कालीन अध्यक्ष श्रेष्ठले कम्पनीको १ अर्ब ७२ करोड रुपैयाँ हिनामिना गरेको पाइएको थियो।

फाइनान्समा रहेको संस्थागत निक्षेपकर्ताको रकम आफ्नो खातामा स्थानान्तरण, धितोको उच्च मूल्यांकन गरी कर्जा प्रवाह, एकाघर र नातेदारको नाममा सीमाभन्दा धेरै कर्जा प्रवाहलगायत गैरकानुनी प्रक्रियामार्फत श्रेष्ठले रकम हिनामिना गरेका थिए।

यही कारण २०६८ पुस २८ गते राष्ट्र बैंकले यो कम्पनीलाई समस्याग्रस्त घोषणा गर्‍यो। योसँगै निक्षेपकर्ताको करिब ३ अर्ब रुपैयाँ डुब्यो।

घोटाला काण्डमाथि अनुसन्धान शुरु भएपछि श्रेष्ठ फरार भए। श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय प्रहरीको सहयोगमा २०६८ असोज ११ गते धनगढीबाट पक्राउ गरेर नेपाल ल्यायो। तर, २०७१ को असार १२ गते सर्वोच्चले उनलाई ३५ लाख धरौटीमा छाडेको थियो।

प्रकाशित मिति: Jun 16, 2020

प्रतिक्रिया दिनुहोस्