अफगानिस्तानका राष्ट्रपति तालिबानसँगको दोहा वार्तामा जाने
अफगानिस्तानका राष्ट्रपति असरफ घानी कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएका छन् ।
उनी दोहा वार्ताका लागि तयार भएको अफगानिस्तानका लागि कतारको विदेश मन्त्रालयका विशेषदूतले जानकारी दिएका हुन् ।
अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएको समाचारमा जनाइएको छ ।
अफगानिस्तानको राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहसँगको वार्तापछि उनले उक्त वार्तामा जानका लागि अफगानिस्तानका राष्ट्रपति असरफ घानीले सहमति जनाएको जानाकरी दिएको विशेषदूत क्वातानीले जानकारी दिएको हो ।
अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो ।
गत फेब्रुअरी महिनामा दोहामा भएको सो शान्ति वार्तासम्बन्धी सम्झौतामा अमेरिका, अफगानिस्तान र तालिबानका तर्फबाट हस्ताक्षर भएको थियो ।
त्यस सम्झौतामा यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र नेटोका साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताइएको छ ।
त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा गरिएको छ ।
उक्त युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् ।
यसअघि अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले पनि दोहा सम्झौताबमोजिम वार्ता गर्न स्वीकार गरेको छ ।
अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने उल्लेख छ । सम्झौतामा हस्ताक्षर हुनुअघि अफगानिस्तानमा करिब एक हप्ता लामो युद्धविराम भएको थियो ।
उक्त सम्झौताले अफगानिस्तानमा युद्ध अन्त्यका लागि एउटा शक्तिशाली मार्ग प्रशस्त गर्ने सम्भावना रहेको अनुमान गरिएको छ ।