सङ्घीय संसद् सचिवालयले संविधान संशोधनको विषय कार्यसूचीबाट हटायो
कानुन मन्त्री शिवमाया तुम्बाहाम्फेले आज दिउँसो २ बजे बस्ने बैठकमा संविधान संशोधनको प्रस्ताव पेस गर्ने कार्यसूची रहेकोमा अन्तिम समयमा संसद् सचिवालयले त्यसलाई हटाएको छ ।
आजको कार्यसूचीमा संशोधनको कार्यसूची हटाइएको र दलीय सहमतिपछि फेरि अर्को बैठकमा प्रस्ताव दर्ता हुने संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनमा राष्ट्रिय सहमति जुटाउन पहल जारी राखेकाले सर्वसहमतिपछि फेरि प्रस्ताव दर्ता हुने नेकपाका एक नेताले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले मङ्गलबार सर्वदलीय बैठक बोलाएर संविधान संशोधनमा सर्वसहमति जुटाउन आग्रह गरेका थिए ।
तर कांग्रेसले केन्द्रीय समितिले निर्णय गर्ने बताएको थियो भने जनता समाजवादी पार्टीले निशान छाप परिवर्तन गर्नको लागि संविधान संशोधन गर्दा आफ्ना माग पनि पूरा गर्न सचेत गराएको थियो ।