Logo
३० कार्तिक २०८१, शुक्रबार
(May 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसदमा सन्त्रास : श्रीमतीलाई कोरोना लागेका पूर्वसांसदसँग थुप्रै सांसदहरुको उठबस

श्रीमती कोरोना संक्रमित भएका एक पूर्वसांसदले बहालवाला सांसदहरुसँग उठबस गरेको पाइएको छ। श्रीमतीलाई संक्रमण पुष्टि हुनुअघि जेठ ९ गतेसम्म उनी हेरचाहमा संलग्न रहेको एक निकटले जानकारी दिए।

कोरोना संक्रमित श्रीमतीलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा राखे पनि संक्रमितको सम्पर्कमा पुगेका नेकपाका एक पूर्वसांसद विभिन्न स्थानमा पुगेको पाइएको हो।

पूर्वसांसदकी पत्नीलाई कोरोना संक्रमण भएको र उनको सम्पर्कमा अरु सांसदहरुसमेत आएको हल्ला चलेपछि संसद सचिवालय र सांसदहरुबीच संत्रास फैलिएको छ।

चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश गर्न मंगलबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक राखिएको छ। उक्त बैठकमा ती पूर्वसांसदको सम्पर्कमा पुगेका सांसदहरुलाई उपस्थित गराउने कि नगराउने भन्ने विषयमा संसद सचिवालय अन्योलमा परेको छ।

बहालवाला सांसदहरु कोरोना संक्रमित महिलाको पतिको सम्पर्कमा पुगेको थाहा पाएका केही अरु सांसदहरुले चिन्ता व्यक्त गरेका छन्।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अग्नि सापकोटाले सांसदहरुले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाएको भन्दै आपत्ति जनाएका थिए।

सांसदहरु सुरक्षित रुपमा घरमै बसेर संसद आउन आग्रह गरिए पनि संक्रमितको सम्पर्कमा जाने, निर्देशन विपरीत पटक पटक जिल्ला पुगेको भन्दै सभामुख सापकोटाले प्रमुख सचेतकहरुको ध्यानाकर्षण गराएका थिए।

श्रीमतीलाई कोरोना संक्रिमित पुष्टि भएपछि दुईपटक गरिएको आरडिटी परीक्षणमा भने हेटौंडाका ती पूर्वसांसद र उनका छोराछोरीको आरडिटी परीक्षण नेगेटिभ देखिएको छ।

चिकित्सकहरुका अनुसार आरडिटी परीक्षणले कोरोना संक्रमण भए/नभएको ठ्याक्क भन्न सक्दैन। उनकी पत्नीको पनि दुईपटक आरडिटी परीक्षण नेगेटिभ हुँदाहुँदै पनि पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो।

स्रोतका अनुसार श्रीमतीको उपचारका लागि काठमाडौँ आएका ती पूर्वसांसद हेटौंडा नै स्थायी घर भएका राष्ट्रियसभाका हालका सांसद रामचन्द्र राईको कोटेश्वरस्थित निवासमा पुगेका छन्।

राईको घरमा उनी तीन रात बसेका थिए। उनी त्यहाँ रहँदा मकवानपुरबाट प्रतिनिसभामा प्रतिनिधित्व गर्ने अर्थ समितिका सभापति समेत रहेका सांसद कृष्णप्रसाद दाहाललगाय अरु केही व्यक्तिहरु पनि जेठ ५ गतेपछि राईको घरमा पुगेका थिए।

सांसद राईले आफ्नो निवासमा दाहाल र ती पूर्वसांसदसहित अरु व्यक्ति तीन रात बसेको स्वीकार गरे। पूर्वसांसदकी पत्नीलाई अस्पतालमा राखिएको थाहा पाएपछि नेकपाका स्थायी समिति सदस्य एवं सांसद मुकुन्द न्यौपाने, दाहाल र राई पनि अरु केही नेताहरुसहित टिचिङ अस्पताल पुगेका थिए।

प्रकाशित मिति: May 25, 2020

प्रतिक्रिया दिनुहोस्