Logo
१० मंसिर २०८१, सोमबार
(May 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा क्वारेन्टिनको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइयो

कर्णाली प्रदेश स्थित जुम्ला जिल्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय एकीकृत क्वारेन्टिनको रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टिन रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो ।

यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टिनमा सुरक्षा अभावले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिन अभावै घर जाने गरेकाले जिल्लामै एकीकृत क्वारेन्टिन निर्माण गरी त्यसको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए ।

बाहिरबाट आएपछि अनिवार्य रुपमा जिल्लास्तरीय एकीकृत क्वारेन्टिनमा बस्नुपर्ने व्यवस्था मिलाएको छ । देशभित्र र भारतबाट आएका १४ जना एकीकृत क्वारेन्टिनमा थपिएका छन् ।

भारतको पिथौँरागढदेखि बाजुरा जिल्ला हुदैँ मुगु भएर कनकासुन्दरी गाउँपालिकामा आएका ६ जनालाई एकीकृत क्वारेन्टिनमा राखिएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले बताए ।

उनले भने, “त्यस्तै तिलाका तीनजना र सिञ्जाका पाँचजनालाई पनि एम्बुलेन्समा ल्याएर क्वारेन्टिनमा राखिएको हो ।”

यसअघि भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टिनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको एकीकृत क्वारेन्टिनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

उनका अनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जनालाई क्वारेन्टिनमा राखिएको छ ।

लकडाउन अवधिभर जिल्लामा ११ हजार २११ जना भित्रिएका छन् । जिल्ला भित्रिएका नागरिकमध्ये ३५ जना क्वारेन्टिनमा रहेका छन् भने एक हजार २२४ जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

एक हजार ५५४ को पिसिआर र २६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

प्रकाशित मिति: May 20, 2020

प्रतिक्रिया दिनुहोस्