नेपालमा लकडाउन शुरु भएको ५६ औैँ दिनसम्म ३ अर्बको औषधि आयात
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउन घोषणा गरिरहेको अवस्थामा बन्दाबन्दी शुरु भएपछिको ५६ औैँ दिनसम्म करीब ३ अर्ब बराबरको तयारी औषधि आयात भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकानुसार बन्दाबन्दीपछि मङ्गलबारसम्म रु दुई अर्ब ७१ करोड ६ लाख ६७ हजार बराबरको तयारी औषधि र रु ६१ करोड ४९ लाख ९५ हजार बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ ।
मन्त्रालयको तथ्यांकानुसार एक लाख ८३ हजार ९२३ मेट्रिक टन खाद्यान्न, ५१ हजार ८३२ मेट्रिक टन दलहन, ६९ हजार २५५ मेट्रिक टन तरकारी, २५ हजार ९८१ मेट्रिक टन फलफूल र १२ हजार ५७ मेट्रिक टन दुग्धजन्य पदार्थ आयात भएको छ ।
बन्दाबन्दीपछि खाद्य पदार्थ आयातमा वृद्धि भएको मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले जानकारी दिए ।
उनका अनुसार पहिलो हप्ताको तुलनामा आठौँ हप्तामा खाद्यान्न आयातमा ८२ दशमलव ६ प्रतिशत तथा दलहन र गेडागुडी आयातमा १२१ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
यसैगरी तरकारी र फलफूलको आयात क्रमशः ९ दशमलव ६ र ३०५ प्रतिशतले वृद्धि भएको छ । यही अवधिमा दुग्धजन्य पदार्थ आयातमा १३२ दशमलव ९, औषधिको कच्चापदार्थमा १९८ दशमलव ३ र तयारी औषधिमा ५७ दशमलव १ प्रतिशतले वृद्धि भएको छ ।
बन्दाबन्दी भएपछिको हाल विद्यमान आठौँ सातामध्ये खाद्यान्न पाँचौँ साता, दलहन तथा गेडागुडी, फलफूल र तयारी औषधि छैटौँ साता र औषधिको कच्चा पदार्थ सातौँ सातामा सबैभन्दा बढी आयात भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसैगरी तरकारी तथा दुग्धजन्य पदार्थ चौथो सातामा सबैभन्दा बढी आयात भएको थियो । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ ।
मंगलबारसम्म वीरगञ्ज एकीकृत जाँचचौकीबाट ३१२ ट्रक भित्रिएको, २७६ ट्रक बाहिरिएको र ६३३ ट्रक रोकिएका छन् ।
त्यस्तै वीरगञ्ज सुख्खा बन्दरगाहबाट १८० ट्रक भित्रिएको, ११५ ट्रक बाहिरिएको र तीन हजार ५९२ ट्रक रोकिएका छन् । भैरहवा नाकाबाट ५० ट्रक भित्रिएको, ४४ ट्रक बाहिरिएको र १८० ट्रक रोकिएका छन् ।
विराटनगर एकीकृत जाँचचौकीबाट २१७ ट्रक भित्रिएको, ११४ ट्रक बाहिरिएको र २५५ ट्रक उतै रोकिएका छन् भने विराटनगर सुख्खा बन्दरगाहमा एक ट्रक रोकिएको छ ।
काकरभिट्टा जाँचचौकीबाट ६८ ट्रक भित्रिएको, ५८ ट्रक बाहिरिएको र ३३ ट्रक रोकिएको छ ।