अम्फान आँधीबाट सुरक्षित राख्न ओडिसामा डेढ लाख मानिसको उद्धार
छिमेकी देश भारतको पूर्वी तटीय इलाकामा सक्रिय अम्फान आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका १ लाख ३७ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
ओडिसाका विशेष राहत आयुक्तले पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै समस्या निम्त्याउने खतरा रहेको बताएका छन् ।
आयुक्त पिके जेनाले अम्फान आँधी पारादिपबाट दक्षिण-पूर्व ११० किलोमिटर टाढा देखिएको बताउँदै भने, “यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा छ ।
पश्चिम बंगालमा बुधबार साँझसम्म यो आँधी आइपुग्ने देखिएको छ । यहाँ आगामी ६-८ घण्टा निकै चुनौतीपूर्ण हुनेछ ।”
पारादिपमा बुधबार बिहान आँधीको गति १०२ किलोमिटर प्रतिघण्टा देखिएको पनि उनले बताए । भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल-बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ ।
उनले एक लाख ३७ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिँदै बालासोर र मयुरभान्ज जिल्लाका केही क्षेत्रबाट मानिसलाई सुरक्षित स्थानमा सार्ने योजना बनिरहेको बताए ।