संक्रमितको स्वाब संकलन गरेका चिकित्सकमा कोरोना संक्रमण
स्वाब संकलनका लागि गएर फर्किएका एकजना चिकित्सकमा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।
इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाबाट कपिलवस्तु तथा रुपन्देहीबाट फर्किएका चिकित्सक संक्रमित भएका हुन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठका अनुसार रुपन्देही र कपिलवस्तुमा स्वाब संकलन गर्न गएका विभागमा कार्यरत उनमा संक्रमण रहेको पाइएपछि उनको सम्पर्कमा आएका अन्य ४ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनले स्वाब संकलन गर्ने तथा फिल्डमा खटिने चिकित्सकहरु सबैभन्दा बढी जोखिममा रहेको बताउँदै उनको अवस्था भने सामान्य रहेको जानकारी दिए ।
सोमबार थप २७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । त्यसमध्ये ५ जना संक्रमित काठमाडौं उपत्यकामा नै फेला परेका थिए ।
नेपालमा पहिलोपटक कुनै चिकित्सकमा कोरोना संक्रमण पाइएको हो । यसअघि नर्सहरुमा भने कोरोना संक्रमण देखिसकिएको छ ।
ती मध्ये एक ललितपुर निवासी चिकित्सक भएको स्रोतले दाबी गरेको छ ।