Logo
४ आश्विन २०८१, शुक्रबार
(May 7, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

परिक्षण नबढ्दा लकडाउनमाथि प्रश्न : सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउनै सकेन

सरकारले मुलुकमा लकडाउन लगाएको ५० दिन पुग्न लाग्दा समेत कोरोनाको परिक्षण कमजोर देखिएको छ ।

परिक्षण कमजोर देखिदाँ सरकारले लगाएको लकडाउनको जनस्तरबाट प्रश्न उठ्न लागेको हो । परिक्षण बढाउने भन्दै नेपाली सेनालाई चीनबाट स्वास्थ्य सामग्रीहरु ल्याउन सरकारले १५ दिन अघि नै जिम्मा दिएपनि उसले अझै ल्याउन सकेको छैन ।

ढुवानी प्रक्रियामा समस्याको कारण देखाउँदै तोकिएको मितिभन्दा एक साता ढिलो सामग्री आइपुग्ने सेनाले बताएको छ ।
सेनाको वैशाख २३ मा पहिलो लटको स्वास्थ्य सामग्री चीनबाट काठमाडौं उतार्ने बताएको थियो । तर, चीनमा लगातार ५ दिनको बिदा, नेपालसहित विश्वका अन्य मुलुकहरुले पनि एकैपटक स्वास्थ्य सामग्री आपूर्ति गर्न खोज्नु, सबै मुलुकलाई एकैपटक सामग्री चाहिएको कारण विमानस्थलमा ट्राफिक समस्या हुनु र भन्सारका चेक–जाँचलगायतका समस्याका कारण तोकिएको समयमा स्वास्थ्य सामाग्री ल्याउन नसकेको सेनाले दाबी गरेको छ ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले आउँदो मंगलबारसम्ममा पहिलो फ्लाइटबाट काठमाडौंमा चीनबाट स्वास्थ्य सामग्री आउने बताए ।
सेनाले गोन्जाउ एयरपोर्टमा नेपाल ल्याउने सामग्री जम्मा गर्ने स्थान पाएको पनि उनले बताए । उक्त सामग्री अब भन्सारले चेकजाँच गरिसकेपछि नेपालबाट वाइडबडी विमान गएर ल्याउने छ । ‘शुक्रबारसम्म भन्सारको काम सकियो भने नेपालबाट शनिबार वा आइतबारै गएर स्वास्थ्य सामग्री ल्याउँछ । नत्र मंगलबार सम्ममा पहिलो लटको स्वास्थ्य सामग्री काठमाडौंमा उत्रने छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

सेनाले ढुवानी कम्पनी फ्ल्यास फ्रेइट नेपाल कार्गो कम्पनीसँग वैशाख १६ गते सम्झौता गरेको थियो । चार्टडबाट दुई खेपमा अतिआवश्यक स्वास्थ्य सामग्री ल्याउन तीन लाख ७२ हजार पाँच सय डलर (चार करोड ४४ लाख ३६ हजार रुपैयाँ) दिने सम्झौता गरेको थियो । जसअनुसार पहिलो विमानमा १४ थरीका १८.८४३ टन र दोस्रो विमानमा १७ थरीका २८.७७ टन स्वास्थ्य सामग्री ल्याउने तयारी छ ।

प्रकाशित मिति: May 7, 2020

प्रतिक्रिया दिनुहोस्