Logo
१० मंसिर २०८१, सोमबार
(May 5, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेशमा किट अभाव हुदाँ कोरोना परीक्षण प्रभावित

किट अभावका कारण कर्णाली प्रदेशमा कोरोना भाइरसको परीक्षण प्रभावित भएको छ ।

थ्रोट स्वाबको नमूना सङ्कलन तथा प्रोसेसिङ गर्ने सामान सकिएपछि कोरोना परीक्षणकार्य प्रभावित भएको हो । किट नहुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको रियल टाइम पोलिमर चेन रियक्सन (आरटी पिसीआर) मेसिन सञ्चालनमा आउन सकेको छैन ।

गत मङ्गलबार प्रतिष्ठानले पिसीआर जडान गरेको थियो । प्रतिष्ठानका अनुसार प्रयोगशाला सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिको जाँच रोकिन पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतमा पनि किट अभावले परीक्षण प्रभावित भएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काले प्रयोगशालासँग ३०० मात्र नमूनाको परीक्षण गर्न मिल्ने किट बाँकी रहेको जानकारी दिए ।

यहाँ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनबाट खरिद गरी ल्याएको पिसीआर मेसिन दिएको छ । पशु रोग अन्वेषण प्रयोगशालामा नयाँ आरटी पिसीआर मेसिन जडान भएपछि कम क्षमताको भनिएको उक्त मेसिन पनि थन्किएको छ ।

कर्णालीको सुर्खेत र जुम्लामा रहेका मेसिनले एकैपटक ९६ स्वाब नमूना परीक्षण गर्न सक्दछन् । तर, प्रदेशमा स्वाब सङ्कलन गरेर प्रयोगशालामा ल्याउन आवश्यक पर्ने भाइरस ट्रान्सफर मिडिया (भिटीएम) तथा सङ्कलित स्वाब परीक्षण गर्ने पिसीआर प्रोसेसिङ किट सकिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशक डा रीता भण्डारीले एक साताअघि नै किट माग गरिएको बताउनुभयो । “कर्णालीका लागि थप एक/एक हजार भिटीएम सेट र प्रोसेसिङ किट माग गरेका छौँ, आएको छैन”, उनले भने, “जसले गर्दा आरडिटी र पिसीआर परीक्षण प्रभावित बन्यो ।”

उनका अनुसार कर्णालीमा हालसम्म पाँच हजार ५०० को आरडिटी तथा करिब एक हजार जनाको पिसीआर परीक्षण गरिएको छ । हालसम्म यहाँ भने कोरोना सङ्क्रमण देखिएको छैन ।

छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितको सङ्ख्या अचानक बढेपछि कर्णाली प्रदेशमा पनि त्रास बढेको छ । बाँकेमा फैलिँदो सङ्क्रमणको नतिजाले कर्णालीमा पनि त्रास बढेको हो ।

परीक्षण न्यून भएकाले कोरोना नदेखिएको हो कि भन्ने आशङ्का गर्न थालिएको छ । दुई साता पहिले कर्णाली भित्रिएकाहरुको परीक्षण गरेपछि मात्रै वास्तविकता पत्ता लाग्ने जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

किट अभावले भने परीक्षण ढिलाइ हुने भएको छ ।कर्णालीमा वैशाखको पहिलो सातादेखि किट अभाव भएको थियो ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले परीक्षण किट खरिदको जिम्मा प्रदेश स्वास्थ्य निर्देशनालयलाई दिएको बताए  ।

“केन्द्रसँग पनि एक हजार थान किट माग गरेका छौँ, किट माग गरेको दुई साता बितिसक्यो, आइपुगेको छैन”, उनले भने । बाँकेसँग प्रत्यक्ष सम्पर्क जोडिएको कर्णालीमा कोरोना परीक्षणको दायरा बढाउनु पर्ने चौतर्फी आवाज उठेको छ ।

प्रकाशित मिति: May 5, 2020

प्रतिक्रिया दिनुहोस्