भारतसँगको सिमानाकामा BOP संख्या ५ सय पुर्याउने गृह मन्त्रालयकाे तयारी
संघीय सरकारको गृहमन्त्रालयले सिमानाकामा थप कडाइ गर्दै सशस्त्र प्रहरीको बिओपीको संख्या पाँच सय पुर्याउने तयारी गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा’बादल’ले दिएकाे निर्देशन अनुरुप सशस्त्र प्रहरी बलले साे सम्बन्धि खाका तयार पारि आज गृहमन्त्रालयमा गृहमन्त्री र मन्त्रालयका अधिकारी समक्ष प्रस्तुत गरेकाे हाे ।
हाल सिमामा १२१ बिओपी रहेकोमा त्यसलाई बढाएर पाँच सय पुर्याउने सरकारको तयारी रहेकाे छ ।
नेपालतर्फको सिमानाकामा भारतकाे ५३० बिओपी रहेकोमा नेपालले पनि साेहि अनुपातमा बिओपी थप्ने तयारी गरेकाे हाे । प्रस्ताव अनुसार साे संख्यामा जनशक्ति खटाउन ९ हजार जनशक्ति थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ ।
हाल सरदर १५ किलोमिटरकाे दुरिमा रहेकाे बिओेपी त्यसपछि ३.५ किलोमिटर सिमामा रहनेछ ।
बिओपी थप सम्बन्धि गृहमन्त्रालयकाे छलफलमा गृहमन्त्री थापाले सिमा व्यवस्थापनकाे विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेकाे बताउँदै बिओेपी थप सम्बन्धि प्रस्ताव आफुले मन्त्रीपरिषदमा लैजाने बताए ।
उनले सशस्त्र प्रहरीले तयार पारेकाे प्रस्ताव राम्राे रहेकाे भन्दै बिओेपी रहने स्थान, आवश्यक पुर्वाधार लगायतका विषयमा थप विस्तृत प्रस्ताव ल्याउन सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिए ।
शान्त, समृद्ध र स्वाधीन नेपालकालागि सिमा व्यवस्थापन अनिवार्य शर्त रहेकाे बताउँदै गृहमन्त्री थापाले यसका लागि राज्यले बजेटमा कन्जुस्याइँ गर्न नहुने बताए ।
तत्कालै वा चरणवद्ध रुपमा पाँच सय स्थानमै बिओेपी स्थापना प्रक्रिया अगाडि बढाईने उहाँले प्रतिवद्धता व्यक्त गरे । उनले अहिले जटिल परिस्थितिमा सिमित, स्राेत र साधनका बाबजुद सिमामा काेराेना नियन्त्रणका लागि सुरक्षानिकायले खेलेकाे भूमिका प्रशंसनीय रहेकाे टिप्पणी गरे ।
गृहसचिव महेश्वर न्याैपानेले सिमाकाे विषय संवेदनशील विषय भएकोले सिमाबाट हुने अपराध, चाेरी, तस्करी नियन्त्रणका लागि समेत बिओेपी बढाउनुकाे विकल्प नरहेको बताए ।
उनले भन्सारकाे १११ ठाउँमा रहेकाे जग्गा बिओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएकाे जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगकाे समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिए ।
यसअघि सिमाक्षेत्रमा ८७ बिओपीमात्रै रहेकोमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालय सम्हालेपछि यसमा ठुलाे संख्यामा थप गरि १२० पुर्याइएको छ ।
त्यस्तै बिओपी संख्या २२१ पुरयाउने गृहमन्त्रीको प्रस्ताब मन्त्रीपरिषद्ले यसअघिनै पारित गरिसकेकाे छ । यसअघि बिओपीमा करिव ५ हजार जनशक्ति रहेकोमा कोरोनाको संक्रमणका कारण सिमा सिलपछि ८ हजार ३८३ थप जनशक्ति सिमामा थपिएको हाे ।
गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सिमामा पठाउन निर्देशन दिएसँगै अहिले ठुलाे संख्यामा सिमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् ।
सशस्त्रको १२१ स्थानमा मात्रै बिओेपी रहेपनि कोरोनाको संक्रमणका कारण सिमा सिलपछि त्यसलाई बिस्तार गरि १२ सय स्थानमा अस्थायी र स्थायी पाेस्ट बिस्तार गरिएको सशस्त्रले जनाएकाे छ ।