घर जान पाउनुपर्ने माग गर्दै नेपालगञ्ज विमानस्थलमा ७० भन्दा बढीको धर्ना
घर जान पाउनुपर्ने माग गर्दै प्रदेश ५ स्थित बाँकेको नेपालगञ्ज विमानस्थलमा हुम्लाका बासिन्दाले धर्ना सुरु गरेका छन्।
साेमबारका लागि टिकट भएका ७० भन्दा बढी यात्रु विमानस्थलतर्फ जाँदा अब उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको यात्रु वर्ष भण्डारीले बताए ।
यसअघि पछिल्ला २ दिनमा नेपालगञ्ज र सुर्खेतबाट झण्डै पाँच सय यात्रुलाई हवाईमार्ग हुँदै हुम्ला ओसारिएको थियो।
नेपालगञ्जबाट हुम्लाका लागि क्याप्टेनहरुले उडान भर्न नमान्दा हुम्ला जाने यात्रुहरु रोकिएका हुन् । समिट एयरले अब उडान नै नगर्ने जनाएको छ ।
सिमकोटका लागि टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि धर्ना सुरु गरेका हुन् ।
नेपालगञ्जमा आइतबार १५ जनामा कोरोना संक्रमण देखिएपछि हवाइ उडान रोकिएको बताइएको छ।