मिस्टर पर्फेक्सनिस्टको सफलता र नयाँ फिल्म ‘दंगल’
‘पर्दामा अमिर खान देखिए मात्रै पनि तीन घण्टा हेरिरहन सक्छु । उनको सिनेमा त छुटाउने कुरै भएन ।’ आमिर स्टारर पछिल्लो सिनेमा ‘दंगल’को पहिलो सो हेर्न पुल्चोकस्थित लबिम मल पुगेका एक युवक भन्दै थिए । नेपालमा आमिर–फ्यानका उदाहरण हुन् उनी । आमिर–क्रेज राम्ररी बुझेका नेपाली सिनेमा निर्माताले ‘दंगल’सँग आफ्ना सिनेमा जुधाएनन् । ‘दंगल’को नेपाल अधिकार किन्दा गोपीकृष्ण मुभिजले अहिलेसम्मकै बढी मूल्य तिरेको छ । आमिर स्टारर अघिल्लो सिनेमा ‘पीके’ले गरेको १० करोडभन्दा बढी नेपाल ‘कलेक्सन’ले वितरकलाई यो आँट दिएको हो ।
भारत र विश्वबजारमा आक्रामक रूप देखाइरहेको ‘दंगल’ले ‘क्रिटिक्स’ प्रशंसा पनि उत्तिकै बटुलिरहेको छ । नेपाली थिएटरमा पनि यसले भव्य ‘अक्युपेन्सी’ पाएको छ, ‘क्रिटिक्स’को प्रशंसा पनि उत्तिकै मिलेको छ । बलिउडमा ‘मिस्टर पर्फेक्सनिस्ट’को पहिचान बनाएका आमिर पछिल्लो समय एकपछि अर्को हिट सिनेमा दिइरहेका छन्, जसले बलिउड सिनेमाका रेकर्ड ब्रेक गरिरहेका छन् । त्यसैले उनको सिनेमालाई ‘स्ट्यान्डर्ड सेटर’को रूपमा लिइन्छ । सन् २००८ मा रिलिज भएको उनी स्टारर सिनेमा ‘गजनी’ले सय करोडभन्दा बढीको व्यापार गरेपछि बलिउडमा सय करोड क्लबको ‘स्ट्यान्डर्ड’ तय भयो । दक्षिण भारतीय सिनेमाको ‘रिमेक’ले गरेको त्यो व्यापारसँगै बलिउडमा सय करोड क्लबका आधारमा सिनेमाको सफलता मापन गर्न थालियो ।
सन् २००९ मा रिलिज भएको सिनेमा ‘थ्री इडिएट्स’लाई दर्शकले यति धेरै मन पराए कि त्यसको व्यापार दुई सय करोड पुग्यो । यसले एकैपटक एक हजार सात सयभन्दा बढी स्क्रिन पाएको पनि चर्चा भएको थियो । त्यसपछि आमिरले ‘धुम–३’का लागि ‘साइन’ गरे । त्यसबेला प्रश्न उठ्यो, किन आमिरले मसलावाला सिनेमा खेल्दैछन् ? जवाफ सिनेमाले नै दियो । सन् २०१४ मा रिलिज भएको उनी स्टारर ‘पीके’ले तीन सय करोड क्लबको खाता खोल्यो । चीनमा समेत सय करोडको व्यापार गरेको ‘पीके’को चर्चा लामो समयसम्म चलिरह्यो । ‘दंगल’ले ‘पीके’को रेकर्ड तोडेर चार सय करोडको खाता खोल्ने विश्लेषण बलिउड व्यापार विश्लेषकहरूको छ । आमिरको करिअर चकलेटी छविका साथ सुरु भएको थियो । सिनेमा निर्माता पिता ताहिर हुसेन तथा निर्देशन र अभिनयमा सक्रिय काका नासिरको छत्रछायाँमा हुर्केका उनी काकाकै सिनेमा ‘यादों की बारात’मार्फत बालकलाकार भएर सिने–नगरीमा प्रवेश गरेका हुन् । त्यसको नौ वर्षपछि सन् १९८४ मा ‘होली’ सिनेमामा उनी अभिनेताको रूपमा देखापरे ।
सन् १९८८ मा काकाका छोरा मन्सुर खानको सिनेमा ‘कयामत से कयामत तक’ले उनलाई स्टारको हैसियत दिलायो । त्यसपछि उनले निकै सिनेमा पाए र त्यसपछि उनले अभिनय गरेको सिनेमा ‘दिल’ले पनि निकै सफलता पायो । माधुरी दीक्षितसँग स्क्रिन सेयर गरेको यो सिनेमाबाट उनी बलिउड सिने–आकाशमा गज्जबले चम्किए । मन्सुर खान निर्देशित सिनेमा ‘जो जीता वही सिकन्दर’ले त उनलाई ‘बलिउडका सिकन्दर’ बनाइदियो । यसमा उनले निर्वाह गरेको उत्तरदायित्व, आत्मसम्मान र प्रेमले भरिएको स्कुले छात्रको चरित्रलाई दर्शकले मन पराए । यस्ता सफलताले उनलाई मात चढ्यो । त्यो मात महेश भट्टको सिनेमा ‘दिल है कि मानता नहीं’को छायांकनका क्रममा प्रस्ट देखियो । आफ्ना लागि विशेष प्रकारको सर्ट र क्याप मागेर निर्माण समूहलाई उनले हैरान बनाएका थिए ।
त्यसै सिलसिलामा उनले दुई सिनेमा ‘साजन’ र ‘डर’को प्रस्ताव अस्वीकार गरे । वैकल्पिक प्रस्ताव पाएका सञ्जय दत्त र शाहरूख खानको करिअर भने ती सिनेमाले चम्काइदिए । आमिरको भने सफलताको मातमा जमिन छोडेर हिँड्न थालेको बताउदै आलोचना भयो । त्यसैबीच उनले अभिनय गरेको सिनेमा ‘हम है राही प्यार के’ हिट भयो ।
आलोचकहरू चुप लागे । आमिर–जुहीको अनस्क्रिन जोडीलाई निकै मन पराइयो । बक्स–अफिसमा आमिर छाए । त्यस्तै, ‘कपथ्रिलर’ सिनेमा ‘बाजी’मा पनि उनले सफलताको बाजी मारे । अर्को सिनेमा ‘अकेले हम अकेले तुम’चाहिँ ‘फ्लप’ भयो । यसले अलिक हच्किएका आमिरलाई ‘रंगीला’ र ‘राजा हिन्दुस्तानी’ले निकै माथि उचालिदियो । त्यसपछि आमिर एक्लैले बक्स–अफिसमा भीड जम्मा गर्न सक्छन् भन्ने चर्चा चल्यो । उनको व्यक्तित्वलाई ‘लार्जर देन दी लाइफ’ मान्न थालियो । सन् १९९८ मा रिलिज भएको दीपा मेहताको सिनेमा ‘१९४७ ः अर्थ’मा आमिरको अलग अन्दाज देखियो । सिनेमामा कडा मिहिनेत गर्नु र जोखिम लिन पछि नपर्नुले आमिरलाई सफलताको हकदार बनाउँछ। एजेन्सीको सहयोगमा अन्नपुर्ण पोष्टमा यो आलेख प्रस्तूत गरिएको छ ।
नन्दिता दाससँग उनको जोडी निकै चर्चामा रह्यो । त्यसपछिका सिनेमा ‘मन’ र ‘मेला’ भने लगातार फ्लप सूचीमा रहे । त्यसको क्षतिपूर्ति उनले ‘सरफरोस’बाट लिए र आमिर खान प्रोडक्सन्समार्फत सिनेमा निर्माणमा होमिए । प्रोडक्सन्सअन्तर्गत बनेको सिनेमा ‘लगान’ २००१ मा विदेशी भाषाको सिनेमा विधाअन्तर्गत ‘नोमिनेसन’मा पर्न सफल रह्यो । यो सिनेमाबाट आमिरले निकै तारिफ बटुले । लगत्तै उनले अभिनय गरेको सिनेमा फरहान अख्तरको सिनेमा ‘दिल चाहता है’मा नयाँ लुक्स र गेटअपको चर्चा भयो । त्यसमा उनको अभिनय पनि उत्तिकै दमदार देखियो । त्यसपछिका सिनेमाहरू ‘रंग दे वसन्ती’, ‘तारे जमिन पर’, ‘गजनी’, ‘पिप्ली लाइभ’, ‘थ्री इडिएट्स्’, ‘पिके’जस्ता सिनेमा ‘ब्लकबस्टर’ बने ।
सन् २०१२ बाट उनी टेलिभिजन सो ‘सत्यमेव जयते’ लिएर आए । ‘रियालिटी सो’मा ‘रियालिटी’ प्रस्तुत गर्ने जमर्कोका रूपमा उनको सो चर्चित छ । त्यसमा उठाइने सामाजिक सरोकारका विषय र गहिराइसम्म पुगेर गरिने पैरवीले ‘रियालिटी सोे’को पनि मानक तय गरिदिएको छ । कामप्रति विश्वास र लगन नै आमिरको सफलताको रहस्य रहेको उनकी पत्नी किरण रावले बताउँदै आएकी छन् । उनका अनुसार सिनेमाका लागि कडा मिहिनेत गर्नु र त्यसका लागि कुनै पनि जोखिम लिन पछाडि नपर्नुले आमिरलाई सफलताको हकदार बनाउँछ । उनी काम गर्दा आफ्नो विचारमा पटक्कै सम्झौता गर्दैनन् । र, दक्षतालाई भरपूर प्रयोग गर्ने वातावरण तयार गर्छन् ।
सफलताका पाँच कारण
-एक पटकमा एउटा मात्रै काम गर्नु तर सम्पूर्ण ध्यानकेन्द्रित गर्नु ।
-आफूले गर्ने कामलाई विभिन्न आयामबाट मूल्यांकन गर्नु ।
-बजारमा राम्रो छाप निर्माण गर्नु ।
-विज्ञापनमा यथार्थ रूपमा प्रस्तुत हुनु, दर्शकलाई नझुक्याउनु ।
-सामान्य दर्शकको दृष्टिकोणबाट स्क्रिप्ट पढ्नु र दर्शकको मनोविज्ञान थाहा पाउनु
उत्कृष्ट १० सिनेमा
कयामत से कयामत तक (१९९८)
जो जीता वही सिकन्दर (१९९२)
रंगीला (१९९५)
लगान (२००१)
रंग दे वसन्ती (२००६)
तारे जमिन पर (२००७)
गजनी (२००८)
थ्री इडिएट्स (२००९)
पीके (२०१४)
दंगल (२०१६)
।