Logo
१० मंसिर २०८१, सोमबार
(April 30, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेश : तनहुँमा घर घरमा धारा पुगेपछि माहिलीडाँडाका बासिन्दा हर्षित

गण्डगी प्रदेश स्थित तनहुको व्यासनगरपालिका–१ माहिलीडाँडा वस्तीमा खानेपानी पुगेपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका छन् ।

माहिलीडाँडामा गठित समितिले खानेपानी क्षेत्रमा काम गर्न नसकेपछि सोही वडास्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमार्फत योजना सम्पन्न गरेर घर घरमा खानेपानी पुर्‍याएपछि त्यस क्षेत्रका बासिन्दा हर्षित भएका हुन् ।

समुद्री सतहबाट करिब ४०० मिटर उचाइमा रहेको उक्त बस्ती सदरमुकाम दमौलीदेखि करिब दुई किलोमिटर दूरीमा रहे पनि बत्तीमूनिको अँध्यारो जस्तो बन्न पुगेको थियो ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका यस क्षेत्रका बासिन्दाको सपना बल्ल पूरा भएको सोही वडा निवासी श्रीराम गन्धर्वले जानकारी दिए ।

पानी बोकेर ल्याउनुपर्ने समस्या थियो । उनले भने, “सदरमुकामदेखि नजिक रहेर पनि दुर्गम क्षेत्रका बासिन्दाले जस्तो दुःख भोग्नुपरेको थियो ।”

लकडाउनको समयमा पनि अहोरात्र खटेर घर घरमा खानेपानी पुर्‍याउन गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै लकडाउन खुलेपछि विशेष कार्यक्रम गर्ने योजना बनाइएको माइलीडाँडा टोल विकास संस्थाकी अध्यक्ष सुनिता सुनारले जानकारी दिए ।

गत माघ महिनादेखि प्राविधिक तथा कर्मचारी निरन्तर रुपमा खटेका कारण उक्त क्षेत्रमा खानेपानी वितरण गर्न सफल भएको समितिका सदस्य रामप्रसाद अधिकारीले जानकारी दिए ।

माइलीडाँडामा करिब १२ मिटर उचाइमा १० हजार लिटरका दुईवटा ओभरहेड ट्याङ्की राखेर त्यस क्षेत्रका बासिन्दालाई खानेपानी वितरणको व्यवस्था गरिएको छ ।

व्यासनगरपालिकाको रु १५ लाख र उपभोक्ता समितिको सहभागिता लागत ४ लाख ५० हजार गरी रु १९ लाख ५० हजारको लगानीमा खानेपानी योजना सम्पन्न गर्न सकिएको समितिका सचिव राजेश्वर हड्खलेले बताए ।

उनका अनुसार भौगोलिक दृष्टिकोणले माहिलीडाँडा उचाइ रहेका कारण पनि सहज रुपमा पानी वितरण गर्न नसकिएको उनले जानकारी दिए ।

त्यस क्षेत्रमा रहेका ५४ घरपरिवारमध्ये २९ घरपरिवारमा बुधबारसम्म धारा जडान गरिसकेका छन् । नयाँ निजी धारा जडानका लागि निवेदन आएपछि अन्य उपभोक्ताको पनि क्रमिक रुपमा धारा जडान गरिनेछ ।

साढे १२ हर्ष पावरको मोटर प्रयोग गरी छाब्दी खोलाको बोरिङको पानी तानेर रिजर्भ ट्याङ्कीमा जम्मा गरी पानीलाई शुद्धिकरण गरेपछि पुनः दुई हर्षपावरको मोटरको सहायताले ओभरहेड ट्याङ्कीमा पानी चढाएर वितरण कार्य थालिएको हो ।

पानीको स्रोतलाई मध्यनजर गर्दै अहिलेलाई दिनमा एक घण्टा पानी वितरणको व्यवस्था मिलाइएको छ । अहिले परीक्षणकाल भएकाले एक हप्तापछि समय थप गर्न सकिने समितिले जनाएको छ ।

न्यूनतम शुल्क १७० मा एक घरपरिवारले एक महिनामा सात हजार लिटर पानी गर्न पाउनेछन् । उक्त समितिले हालसम्म वडाभित्र दुई हजार ३९५ धारा वितरण गरिसकेको उपभोक्ता समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

यस क्षेत्रमा मानिसको बढ्दो शहरीकरणका कारण पानीको स्रोतले धान्न गाह्रो हुँदै गएको उक्त समितिले जनाएको छ । निजी धारा जडानका लागि करिब ५०० जनाले निवेदन दिएका छन् ।

उनले भने, “यस क्षेत्रमा दीर्घकालीन रुपेमा पानीको समस्या न्यूनीकरण गर्न मादीसेती लिफ्टिङ आयोजनाको सर्भे कार्य भइरहेको छ ।

प्रकाशित मिति: Apr 30, 2020

प्रतिक्रिया दिनुहोस्