Logo
१ मंसिर २०८१, शनिबार
(April 29, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वामदेवलाई प्रधानमन्त्री बनाउने ओलीको प्रस्ताव, माधव नेपाल पनि अध्यक्ष बन्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र अर्का बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी अध्यक्ष बनाउनेगरि प्रस्ताव अघि सारेका छन् ।

कोरोनाको संक्रमण सकिएपछि आफू प्रधानमन्त्रीबाट राजीनामा दिन तयार रहेको ओलीको भनाई थियो ।

त्यस्तै, उनले प्रधानमन्त्रीमा भने गौतमको नाम अघि सारेका थिए भन्दै समाचार स्रोतको दावी छ ।

यसअघि पार्टीले गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्न सिफारिस गर्दासमेत सिफारिस नगरेका ओलीले बुधबारको सचिवालय बैठकमा एकाएक प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका हुन् ।

संसद नै नरहेका गौतमलाई ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि सचिवालय बैठकमा नेताहरु आश्चर्यचकित बनेका थिए । अहिलेको संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा सदस्य भएर पनि प्रधानमन्त्री बन्न नसक्ने अवस्था रहेकोमा ओलीले यस्तो प्रस्ताव गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए ।

तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा देखिए । बैठकमा लामो भूमिकासहित आफ्नो बचाउमा उत्रिएका ओलीले आफू प्रधानमन्त्री नहुने भए बामदेव गौतमलाई कोरोनाको महामारीपछि बनाऔं भन्दै प्रस्ताव गरेका थिए ।

यस्तै उनले पार्टीमा माधव नेपालको भूमिका उल्लेखनीय रहेको भन्दै माधव नेपाललाई पनि तेस्रो अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए । हाल नेकपामा ओली र प्रचण्ड अध्यक्षकाे भूमिकामा छन् ।

उनको प्रस्ताबारे नेताहरुले खासै टिप्पणी गरेनन् भने यसबारे थप छलफल गर्नेगरी बैठक सकिएको थियो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए ।

आजको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए ।

२० गतेको बैठकले सबै विषयमा मेलखाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने उनले विश्वास व्यक्त गरे ।

नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ ।
विवादका बीच ओली इतर पक्षले उनले प्रधानमन्त्री र अध्यक्ष पद छाड्नुपर्ने अडान लिँदै आएको अवस्थामा आज ओलीले यस्तो धारणा राखेका हुन् ।

प्रकाशित मिति: Apr 29, 2020

प्रतिक्रिया दिनुहोस्