संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने सरकारको तयारी
सरकारले संघीय संसदको बजेट अधिवेशन आह्वान गर्ने तयारी गरेको छ। बजेट अधिवेशन बोलाउने तयारीका लागि बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसद भवनमा रहेको बैठक कक्षको अवलोकन गर्न पुगे।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शपछि स्थलगत अवलोकन गरेको उनले बताए।
कोभिड-१९को संक्रमणको जोखिम रहेको र यो अवस्थामा बैठक आह्वान गर्न सम्भव छ या छैन र कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक कक्षको अवलोकन गरेको संघीय संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए।
बजेट अधिवेशन आह्वान गर्ने तयारी सरकारले गरेपछि सचिवालयले पनि कोभिड-१९ को रोकथामका लागि अपनाउनुपर्ने व्यवस्थाको तयारीलाई तिब्रता दिएको छ।
कोभिड-१९को जोखिमका बिच सामाजिक दूरी कायम गर्दै स्वास्थ्यको दृष्टिले अपनाउने विषयमा ध्यान दिइएको सहप्रवक्ता धमलाले बताए।
त्यसका लागि सदस्यहरुको बसाइ एउटा सिट अल्टरनेट गर्ने, संयुक्त बैठकका लागि थप सिटहरु थप्ने लगायतको काम भइरहेको उनले बताए।