ओलीको सत्ता सुरक्षित : संसदीय दलमा बहुमत सिद्ध गर्न सांसदहरुको हस्ताक्षर तयार!
संसदीय दलमा बहुमत देखाईदिने प्रधानमन्त्री ओलीको तयारी
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट हटाउने तयारी भैरहेका समाचार आईरहँदा ओली भने संसदीय दलमा आफ्नो बहुमत देखाउने कसरमा जुटेका छन् । अध्यादेश प्रकरणले ओलीमाथि आफ्नै पार्टीका अन्य नेताहरुको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब सिर्जना गरेपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ ।
यो बीचमा ओलीले विवाद मिलाउनको लािग प्रयासपनि गरेका थिए । तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, र प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनैपनि हालतमा ओलीको प्रस्ताव नमानेपछि विवाद झनै बढेको हो ।
नेता नेपाल समूहले ओलीलाई दुईमध्ये एक पदबाट तत्काल राजीनामा दिन अडानमात्रै राखेको छैन ढिलो गरे दुवै पदबाट हटाईदिनेसम्मको चेतावनी दिएको छ । यता, प्रधानमन्त्री ओलीले भने आफूविरुद्ध ठूलै षड्यन्त्र भएको भन्दै त्यसको डटेर सामना गर्न आफू पक्षधर सांसदहरुलाई निर्देशन दिएका छन् ।
संसदीय दलमा बहुमत पुर्याउनेगरि ओली पक्षीय नेताहरुको दौडधुप सुरु भएको छ । बहुमत जुटाउनको लागि ओलीले सांसद तथा पूर्वमन्त्री महेश बस्नेत, किसन श्रेष्ठ, विजय सुब्बा, नवराज सिलवाललगायतलाई खटाएका छन् । उनीहरु पछिल्लो समय बालुवाटारमै बढि समय व्यतित गरेर गृहकार्य गरिरहेका छन् ।
हिजोमात्रैपनि नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएर ओलीले अढाई घण्टा लामो छलफल गरेका थिए । उक्त छलफलमा प्रचण्डले कुनैपनि हालतमा तपाईलाई दुवै पदबाट हटाएर छोड्छु भन्ने चेतावनी दिएका थिए । तर, ओलीले हटाएर देखाउन भन्दै हरेक किसिमको चूनौतीको सामना गर्ने उल्टै चेतावनी दिएका थिए ।
कतिसम्म भने प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका विपक्षी दलसँग मिलेर अविश्वासको प्रस्ताव ल्याएरसमेत प्रधानमन्त्रीबाट हटाउने उद्घोष गरेका थिए । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग रस्साकस्सी गरेर खुमलटार निवासमा फर्किएपछि प्रचण्डलाई आफ्ना परिवारका सदस्यहरुले तत्काल पार्टी फुटाउन नहुने सल्लाह दिएको स्रोतको दाबी छ ।
भरतपुर महानगरकी मेयरसमेत रहेकी छोरी रेणुले पनि तत्काल पार्टी फुटाउन नहुने भन्दै अध्यक्ष दाहाललाई दबाब दिएको बुझिएको छ । पारिवारिक सल्लाहपछि दाहालले पूनः ओलीसँग फोनमै सम्पर्क गरेको र प्रधानमन्त्रीबाट नहट्ने हो भने पार्टी अध्यक्ष छोड्न आग्रह गरेका थिए ।
ओलीले अध्यक्ष छोड्ने हो भने आफूले आज बस्ने सचिवालयमा कुरा मिलाउला भन्ने दाहालको सन्देश थियो । तर, बालुवाटारमा हटाएर देखाउन चूनौति दिएका ओलीले दुवै पद छोड्दिन जे गर्नुहुन्छ गर्नुहोस भनेर दाहालसँग स्पष्ट आफ्नो अडान दोहोर्याएका थिए।
बरु, प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षको सवालमा माधव नेपाललाई पनि अध्यक्ष बनाउन सकिने विकल्प प्रस्तुत गरेका थिए । प्रचण्डले ओलीको उक्त प्रस्ताव ठाडै अस्विकार गरेका थिए । लगत्तै ओलीले महाधिवेशन नहुञ्जेलसम्म पाँच सदस्यीय अध्यक्ष मण्डल बनाउन पनि आग्रह गरेका थिए ।
त्यसो हुँदा ओली र दाहालसँगै बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनाललाई पनि स्पेश दिने र सँगै रामबहादुर थापा बादललाई पनि समेटौं भन्ने ओलीको प्रस्ताव थियो । र, पाँच सदस्यीय अध्यक्ष मण्डलको नेतृत्व पनि आँफैं गर्ने ओलीको भनाई थियो ।
ओलीको उक्त प्रस्तावपनि प्रचण्डले नमानेपछि ओली यतिवेला संसदीय दलमा आफ्नो बहुमतसिद्ध गर्न लागिपरेका छन् । आज साँझ ५ बजे बस्ने सचिवालय बैठकमा संसदीय दलमा बहुमत पुर्याएर हस्ताक्षरसहित देखाउने ओलीको तयारी छ ।
ओलीनिकट एक सांसदले भने, आज बस्ने सचिवालय बैठकमा संसदीय दलमा प्रधानमन्त्रीज्यूको पक्षमा बहुमत देखाईयो भने उहाँलाई प्रधानमन्त्रीबाट हटाउने षडयन्त्र आफैं समाप्त हुन्छ । यो विवाद यत्तिकै ढिसमिस हुन्छ ।
ओलीको सत्ता सुरक्षित :
महेश बस्नेतले त केपी शर्मा ओलीलाई गिरिजाप्रसाद कोइरालापछिका सशक्त नेता भनेकै थिए । हुनपनि गिरिजाप्रसाद कोइराला निकै खेल्न सक्ने नेता थिए । विरोधीलाई साइजमा ल्याउन जान्दथे ।
फकाएर, लोभ्याएर पनि नभए त्रास देखाउँथे, त्यसरी पनि नभए आफ्नो साथमा ल्याउँथे कि कमजोर पारिदिन्थे । अहिले केपी शर्मा ओलीले राजनीतिक गोटी यसरी नै चालिरहेका छन् ।
बालुवाटारको ललितानिवास जग्गा प्रकरणमा उनले पार्टीभित्र र बाहिरका धेरै नेताहरुलाई त्रस्त पारेका थिए । पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा महासचिव विष्णु पौडेल मात्र नभई डा. बाबुराम भट्टराई समेत यो घटनामा मुछिन पुगे ।
उनीहरु कसैलाई मुद्दा त लागेन तर ओलीले त्रसित भने पारे । नेकपाभित्र ललिता निवास प्रकरणले माधव नेपाललगायत नेताहरुको बोली बन्द गर्न ओली सफल भएको चर्चा अझै सलाएको छैन ।
ओलीले आफूविरुद्ध एकढिक्का भएका पार्टीभित्रका नेताहरुलाई समेत डर देखाइरहेका छन् । उनले पछिल्लो समय अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई द्धन्द्धकालिन घटनाको हाउगुजी देखाइदिएका छन् ।
आइतबार अदालतले गरेको द्धन्द्धकालिन गम्भीर मानवअधिकार उल्लंघनको घटनामा आममाफी दिन नमिल्ने फैसला गरेपछि प्रचण्डलगायत पूर्व माओवादी समस्यामा परेका छन् ।
यसले ओलीलाई फाइदा पुगेको छ भने प्रचण्डलगायत पूर्व माओवादी नेताहरुमा डर पैदा भएको छ । अहिले ओलीको अगाडि दरिलोसँग उभिएर बोल्न सक्ने नेकपा वरिष्ठ नेता झलनाथ खनाल मात्र भएका छन् ।
हुन त माधवकुमार नेपाल ओलीविरुद्ध प्रस्तुत हुँदै कोटेश्वरमा बैठक समेत राख्न पुगे । तर, उनमा ओलीलाई कडा चुनौती दिने साहस रहेकोमा उनकै विश्वासपात्रहरुलाई पनि कमै विश्वास छ ।
माधव नेपाल पक्षका भीम रावल मात्र ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुनसक्ने नेताका रुपमा देखिएका छन् । वामदेव गौतमको राष्ट्रियसभामा जाने चाहनासहित संविधान संशोधन गरी राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था निर्माण गर्ने उद्देश्य छ ।
जसले यसलाई पूरा गर्छ उनको साथ त्यसैलाई हुन्छ । तर, गौतमलाई तत्कालिन नेकपा एमालेको महाधिवेशनमा पनि ओलीले फकाएकै हुन् । यसपटक पनि उनलाई फकाउने नीति ओलीले तयारी अवस्थामा राखेकै छन् ।
पार्टीभित्र मात्र नभई बाहिरका नेताहरुलाई पनि ओलीले फकाउने र तर्साउने गरेका छन् । उनका सल्लाहकार सुर्य थापाले देउवालाई वाइडवडीमा मुछिएको सुनकाण्डको शुरुवातकर्ता भनी आरोप त्यसै लगाएका छैनन् ।
देउवालाई तर्साउने प्रशस्त चीजबिज लिएर ओलीको किचन क्याबिनेट बसेको सन्देश दिइसकेका छन् । उपेन्द्र यादवको बोली नै चर्को सुनिदैन । उनलाई गौर हत्याकाण्डमा मुछ्ने त्रास देखाएकै हुन् ।
सुरेन्द्र यादव अपहरण भनिएको काण्डमा उपेन्द्रको बोली खासै चर्को छैन । जे जति बोलिरहेका छन् बाबुराम भट्टराई नै बोलेका छन् । तर, बाबुरामलाई पनि देखाइदिने भन्दै ओलीका विश्वासपात्रहरुले सार्वजनिक रुपमा त्यसै बोलेका छैनन् ।
यसरी ओलीले सबैलाई आश र त्रास देखाएर सत्ता सुरक्षित गरेका छन् ।