अन्ततः माधवकुमार नेपाललाई अध्यक्ष छाड्न ओली तयार !
प्रधानमन्त्री केपी शर्मा ओली पार्टी अध्यक्ष छोडन तयार भएका छन् । पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष छोड्नेगरि ओलीले सहमतिको तयारी गरेको स्रोतको दाबी छ ।
प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवैबाट हटाउनुपर्ने तयारीमा शीर्ष नेताहरु नै लागिपरेको थाहा पाएपछि ओली समूहले नेता नेपालसँगको छलफल र भेटवार्तालाई तिव्रता दिएको छ ।
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक संघर्ष चुलिँदै गएको छ । दल विभाजन र संवैधानिक परिषदसम्बन्धीका दुई अध्यादेश खारेजीसँगै नेकपाभित्र उनको विकल्प खोज्ने प्रयासस्वरुप मोर्चाबन्दी भएको छ ।
अध्यादेश खारेजीसँग प्रधानमन्त्री ओलीको सक्रियता झनै बढेको छ । उनले आफूविरुद्धको मोर्चाबन्दीलाई परास्त पार्नको लागि चार जना सचिवालय सदस्यहरुसँग पनि बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
ओलीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका छन् । यो गठबन्धनलाई पछिल्लो समय भैसेंपाटी गठबन्धनको रुपमा समेत परिचित छ ।
कुनैपनि हालतमा ओलीलाई पार्टी र सरकार दुवै नेतृत्वबाट विदा गर्नेगरि भैंसेपाटी गठबन्धनले होमवर्क गरेको छ । त्यसको लागि दाहाल नेपाल समूहका २० जना स्थायी कमिटी सदस्यहरुले स्थायी कमिटी बोलाउनको लागि लिखित रुपमै दबाब दिएका छन् ।
तर, ओली भने अध्यादेश फिर्ता लिएपछि अब यसको च्याप्टर क्लोज भएको भन्दै बैठक बोलाउन आलटाल गरिरहेका छन् ।
नेकपाभित्रको आन्तरिक विवादको श्रृंखला ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पदबाट राजीनामा नदिएसम्म नरोकिने निश्चित भएको छ ।
दाहाल नेपाल समूहले आफूविरुद्धको दबाब निरन्तरता राखेपछि ओली समूह यतिवेला नेता नेपालसँग सम्झौता गर्ने पक्षमा पुगेको पनि नेकपानिकट उच्च स्रोतको दाबी छ ।
ओलीले पार्टी अध्यक्ष छोड्ने र नेपाल समूहका केही नेताहरुलाई मन्त्रीमा सहभागी गराउनेगरि मन्त्रिपरिषद पूनर्गठन गर्ने, र मुख्यमन्त्रीहरुपनि फेरबदल गर्नसम्म आफू तयार रहेको नेता नेपालसँगको आजको एक्लाएक्लै भेटवार्तामा स्पष्ट जवाफ दिएका छन् ।
नेता नेपाल समूहको माग पूरा गरे ओली अब प्रधानमन्त्रीमात्रै हुनेछन् । नेता नेपाल अध्यक्ष भए अर्का अध्यक्ष दाहाल एक नम्बरको अध्यक्ष हुने र नेपाल दोस्रो नम्बरको हुने भएपछि दाहालपनि यो विषयमा खुशी नै देखिएका छन् ।
प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट परास्त गर्न नेता नेपाल समूहले चाल्ने हरेक कदममा आफ्नो साथ र सहयोग रहने पनि प्रचण्डले नेता नेपालसँग विश्वास दिलाएका छन् ।
तत्काल प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट हटाउन सकिएपनि पार्टी र सरकारमा ओलीको दबदबा कम हुने दाहालको विश्वास छ ।
#रिपोर्टर्सनेपाल