Logo
१ मंसिर २०८१, शनिबार
(April 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्यङ्ग्य : ‘केही थाहा छ भने भन्नुहोला’

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र जारी रहेको आन्तरिक विवादको विषयलाई लिएर
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुमाथि नै ब्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सोही प्रशंगलाई संकेत गर्दै प्रधानमन्त्रीले ब्यङ्ग्य गरेका थिए । प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘पार्टीको बारेमा मलाई आजभोलि केही थाहा नै हुँदैन । मन्त्रीज्यूहरुलाई पो केही थाहा छ कि ? केही थाहा छ भने भन्नुहोला ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार अघिल्लो बैठकको तुलनामा प्रधानमन्त्री ओली आजको बैठकमा शान्त देखिन्थे ।

उनले बैठकमा वर्तमान सरकारले अन्य सरकारभन्दा धेरै राम्रो काम गरिरहेको र आफूले जहिले यो कुरामा जोड दिने गरेको उल्लेख गरेका थिए ।

त्यस्तै, प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई बजेटको लागि पनि तयारी गर्न निर्देशन दिएको ती मन्त्रीले बताए ।

आज बसेको बैठकले वैशाख २५ गतेसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कायमै रहेकाले थप १० दिन लकडाउन बढाएर २५ गतेसम्म कायम गर्ने निर्णय गरेको हो ।

त्यस्तै, सरकारले अन्तराष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म अवागमन रोक्ने पनि निर्णय गरेको छ ।

पार्टीमा आन्तरिक छलफल नै नगरी एकल निर्णयमा दुईवटा अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओलीको यतिबेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै ब्यापक आलोचना भइरहेको छ ।

अध्यादेशलाई फिर्ता लिनका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका ६ जना सदस्यहरुले मोर्चाबन्दी नै कसेपछि प्रधानमन्त्री अध्यादेश खारेज गर्न बाध्य भए ।

यसको तरङ्ग अझै सेलाएको छैन । प्रधानमन्त्री ओलीको कार्यशैलीविरुद्ध इतर पक्षले आन्तरिक छलफल तीव्र पारेका छन् ।

प्रकाशित मिति: Apr 26, 2020

प्रतिक्रिया दिनुहोस्