कोरोनाबाट परदेशमा ४८ नेपालीको मृत्यु, २२ सय ३८ नेपाली संक्रमित
नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ ।
शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । सबैभन्दा धेरै अमेरिका र बेलायतमा बस्ने नेपाली संक्रमित भएका छन् ।
एनआरएनएका अध्यक्ष कुमार पन्तका अनुसार बेलायतमा मात्रै ३३ नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, अमेरिकामा १०, युएईमा दुई तथा आयरल्यान्ड, जापान र टर्कीमा एक/एकजनाको मृत्यु भएको छ ।
अमेरिका र बेलायतमा रहेका एक÷एक हजार नेपालीमा संक्रमण देखिएको छ । त्यस्तै, युएईमा ७१, बहराइनमा ४९, पोर्चुगल र आयरल्यान्डमा २२/२२, कुवेतमा २१, अस्ट्रेलियामा ११, स्पेनमा १०, स्विजरल्यान्डमा ५, साउदी अरब, जर्मनी र बेल्जियममा ४/४, मलेसिया र क्यानाडामा ३/३, माल्टा, जापान र हङकङमा २/२, टर्की, म्यानमार र फ्रान्समा १/१ जनामा संक्रमण देखिएको एनआरएनएले जनाएको छ ।
यो तथ्यांकभन्दा पनि धेरै नेपालीमा संक्रमण भएको अनुमान अध्यक्ष पन्तको छ । ‘विशेषगरी खाडी मुलुकमा धेरै नेपालीमा संक्रमण भएको हुन सक्छ, कतिले लुकाएको समेत अनुमान गरेका छौँ,’ उनले भने ।
खाडी मुलुकमा सबैभन्दा धेरै सेवा क्षेत्रमा काम गर्ने नेपाली कामदार समस्यामा रहेको एनआरएनएले जनाएको छ । विदेशमा रहेका अधिकांश नेपालीले स्वदेश फर्किने इच्छा देखाएको एनआरएनएले गरेको सर्वेक्षणमा देखिएको थियो ।
२४सै घन्टा सेवा दिने गरी दुई साताअगाडि एनआरएनएले सुरु हेल्पलाइनमा फोन गर्नेमध्येका ७७ प्रतिशतले मातृभूमि फर्किन चाहेको र त्यसका लागि आवश्यक प्रबन्ध गरिदिन आग्रह गरेका छन् । रोजगारी र अध्ययनका लागि विदेशमा ५० लाखभन्दा बढी नेपाली रहेको अनुमान छ ।
दूतावासले समन्वय गर्ने हो : प्रवक्ता दाहाल
दूतावासले संक्रमित नेपाली श्रमिकका लागि समन्वय मात्रै गर्न सक्ने युएईस्थित नेपाली दूतावासकी प्रवक्ता रीता दाहालले बताइन् ।
उनका अनुसार संक्रमित भएका कोही श्रमिकको सूचना आएमा दूतावासले सम्बन्धित स्थानको प्रहरी, स्वास्थ्य मन्त्रालय र श्रम मन्त्रालयमा खबर गरी समन्वय गर्ने काम गर्छ ।
तर, युएई सरकारको व्यवस्थाअनुसार संक्रमण देखिएमा सुरुमा आफैं कोठामा सेल्फ आइसोलेसनमा बस्नुपर्छ । आइसोलेसनमा रहँदा पनि गाह्रो भएमा अस्पताल जानुपर्ने उनले बताइन् ।
सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ : अध्यक्ष कुमार पन्त, गैरआवासीय नेपाली संघ
नेपालमा कोरोनाको कहर खासै नदेखिए पनि विदेशमा धेरै गैरआवासीय नेपाली यसको चपेटामा छन् । करिब अढाई हजार नेपाली संक्रमित भइसके ।
कतिपय संक्रमितले सूचना गोप्य राख्न चाहेकाले संक्रमितको संख्या अझ बढी छ । ४७ जनाको निधन भइसक्यो ।
अमेरिकामा धेरै संक्रमित छन् भने बेलायतमा धेरैको निधन भयो । स्पेन, इटाली र खाडी देशमा रहेका नेपाली पनि संक्रमित भइरहेका छन् । गैर आवासिय नेपाली संघको ८४ वटा देशका समन्वय समिति यतिवेला राहत र उद्धारमा सक्रिय छन् । अमेरिकाको न्युयोर्कमा अस्पतालमा बेड नभएर घरमै उपचार गर्नुपर्ने अवस्था आयो ।
संघले त्यस्तो परिवारमा औषधि पुर्याइदिने, अत्यावश्यक सामग्री जुटाइदिने गरेको छ । संक्रमितको संख्या अत्यधिक नभएका ठाउँमा उपचारमा धेरै समस्या छैन, त्यहाँको नागरिकसरह गैरआवासीय नेपालीले उपचार पाएको जानकारी पाएको छु ।
अवैध रूपमा रहेकाले पनि उपचार पाएका छन् । संघको स्वास्थ्य समितिले तथ्यांक संकलनका साथै उपचार, राहत, उद्धारमा समन्वय गरिरहेको छ ।
कोरोना महामारीका कारण धेरै नेपालीले रोजगारी गुमाउने अवस्था छ, खासगरी खाडी देशमा । रोजगारी गुमाउनेले स्वदेश फर्कनुपर्नेछ । युरोप, अमेरिका, अस्ट्रेलिया, क्यानडामा स्थायी बसोवास गरिरहेका फर्किंदैनन् । तर, विद्यार्थीहरू फर्किनुपर्ने हुन सक्छ ।
विद्यार्थी भए पनि काम गरेर पढ्ने खर्च जुटाउन पर्नेका लागि सजिलो हुनेछैन । करिब सात लाख नेपाली स्वदेश फर्किनुपर्ने हुन सक्छ । माल्टाजस्तो सानो टापुमा सात हजार नेपाली छन्, ती धेरै स्वदेश फर्किनुपर्ने अवस्था छ । पर्यटन व्यवसायमा रहेकाका नेपालीका लागि पनि अबको एक वर्ष चुनौतीपूर्ण छ ।