Logo
१ मंसिर २०८१, शनिबार
(April 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२ जना नर्समा पनि देखियो कोरोना संक्रमण : जम्मा पुष्टि संख्या ४२, उदयपुर बन्यो हटस्पट

प्रदेश नम्बर १ स्थित उदयपुरमा थप ११ जनामा संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।

त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको हो । उदयपुरको त्रियुगा नगरपालिकाको मस्जिदमा बसेका १३ जनामा यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । मस्जिद रहेको गाउँका वासिन्दाको नमुना परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।

मंगलबार पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष , ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला रहेकी छन् ।

एकै दिन थपिए ११ संंक्रमित
मंगलबार एकै दिन कोरोना भाइरस (कोभिड–१९) का ११ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार यी सबै संक्रमित उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ भुल्केको मस्जिद आसपासका क्षेत्रका वासिन्दा हुन् ।

भुल्केको मस्जिदमा रहेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा कोरोना संक्रमण भएको वैशाख ५ गते पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना संकलन गरिएको थियो । त्यसमध्ये काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार तीन जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । २० जनाको रिपोर्ट आउन बाँकी छ ।

यस्तै ६९ जनाको नमुना विराटनगरको कोशी अस्पताल पठाइएको थियो, त्यसमध्ये ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पुनः परीक्षण गर्दा पनि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका ११ संक्रमितमध्ये दुई महिला हुन् भने बाँकी पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । कोरोना संक्रमितमध्ये ५ जना निको भइसके ।

समुदाय स्तरमा पुग्यो संक्रमण
कुल संक्रमितमध्ये २४ जना त्रियुगा नगरपालिका भुल्केकै छन् । अर्थात कोरोनाका लागि भुल्के हटस्पट बनेको छ र, त्यहीँ कोरोनाको संक्रमण समुदाय स्तरमा पुगेको पाइएको छ ।

१२ जना जमातीमा देखिएको संक्रमण धेरै स्थानीयमा सरेको पाइएकाले कोरोना संक्रमण समुदायस्तरमा पुगेको मान्नुपर्ने जनस्वास्थ्यविद् डा. अनुप सुवेदी बताउँछन् ।

उनले भने, ‘आयातीत कोरोना परिवारको एकाध सदस्यमा मात्र सरेको भए लोकल ट्रान्समिसन (स्थानीयस्तरमा संक्रमण) भन्न सकिन्यो । त्यहाँ त फरक फरक परिवारको धेरै संक्रमित पाइएकाले कम्युनिटी लेभलको ट्रान्समिसन (समुदायस्तरको संक्रमण) मान्नुपर्छ ।’

काठमाडौंमा २ जना नर्समा कोरोना संक्रमण ‘पोजेटिभ’ देखियो
यसैबीच काठमाडौमा २ जना नर्सलाई आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको छ ।

त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो ।

आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई पिसिआर विधिबाट परीक्षण गरिने भएको छ ।

उनीहरु दुवैलाई अहिले काठमाडौंको टेकु अस्पतालमा आइसोलेसनमा राखिएको अस्पतालका प्रवक्ता अनुप बास्तोलाले जानकारी दिए ।

आइसोलेसनमा राखिएका उनीहरुको पिसिआर परीक्षण हुँदै गरेको बास्तोलाले जानकारी दिए ।

प्रकाशित मिति: Apr 21, 2020

प्रतिक्रिया दिनुहोस्