आजबाट सुरु गर्यो बीमा समितिले कोरोना भाइरस बीमालेख
आज आइतबारदेखि औपचारिकरुपमा बीमा समितिले कोरोना भाइरस सङ्क्रमण सम्बन्धी परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरेको छ ।
बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले आइतबार कोरोना भाइरस रोग सम्बन्धी पहिलो बीमालेख खरिद गरी औपचारीक सुरुवात गरेका हुन् ।
अध्यक्ष चापागाईंले कोरोना भाइरस महामारीको रुपमा आएको र सानो रकमबाट भएपनि सङ्क्रमण मा परेका व्यक्तिलाई आर्थिक सहयोग होस भन्ने उद्देश्यले बीमालेख जारी गरिएको बताए ।
कुनैपनि नेपाली नगारिक, परिवार एवं संस्थाले आफ्ना सदस्यहरुको व्यक्तिगत वा समुहिक बीमा गर्न सक्ने अध्यक्ष चापागाईंले बताए । उनले लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने बताए ।
कोरोना भाइरस सङ्क्रमण पछिको उपचार सरकारले गर्ने भएपनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बीमा लेख जारी गरिएको उनले बताए ।
पोलिसी खरिदका लागि मडिकल र वित्तीय अण्डरराइटिङको आवश्यकता नपर्ने भएकाले पनि अनलाइनमार्फत खरिद गर्न सकिने अध्यक्ष चापागाईले बताए ।
उनले इन्टरनेटको पहुँच नभएको ठाउँमा समेत निर्जीवन बीमा कम्पनीहरुले काम गर्दै आएका कृषि बीमा तथा घुम्ती बीमामार्फत बीमा विक्री गर्ने व्यवस्था मिलाइएको बताए ।
बीमा पोलिसी खरिद गरेको १५ दिन पछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस सङ्क्रमण भएको प्रभाणित भएमा बीमा दाबी गर्न सकिने अध्यक्ष चापागाईंले बताए ।
यस्तै कोरोना भाइरस बीमा बीमालेख घातक रोग सरह भएको समेत बताए । उनले बीमालेखलाई दुई श्रेणीको बीमाङ्कमा कायम गरिएको बताए ।
बीमा दाबीका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहेको छ । यस बीमालेखको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा पुलमार्फत हुने छ ।
यस्तै बीमालेख सबै निर्जीबन बीमा कम्पनीको वेबसाइट मार्फत तथा आइएमई पे मार्फत सिधै खरिद गर्न सकिने छ ।
नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीको ८० प्रतिशत र नेपाल पुनर्बीमा कम्पनीको २० प्रतिशत दायित्व हुने गरी बीमा पुल मार्फत पोलिसी सञ्चालन गरिएको अध्यक्ष चापागाईंले बताए ।
पहिलो बीमालेख १ लाख रुपैयाँको बीमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ ।
यस्तै पारिवार वा संस्थागत रुपमा बीमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्ने छ । यस्तै दोस्रो बीमालेख ५० हजार रुपैयाँको छ ।
उक्त बीमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामुहिक बीमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्ने छ ।