चार्टर विमानमा २४८ विदेशी नागरिक यात्रु बोकेर टाइटन एयर लण्डन फर्कियो
टाइटन एयरको चार्टर विमान २ सय ४८ बेलायती लगायतका विदेशी नागरिक बोकेर फर्केको छ । लकडाउनको कारण अलपत्र परेका बेलायती नागरिक लिन चार्टर विमान शुक्रबार १२ बजे नेपाल आइपुगेको थियो ।
काठमाडौँस्थित संयुक्त अधिराज्य (बेलायत) ले झिकाएको चार्टर विमान दुबई हुँदै काठमाडौँ आएको र शुक्रबार दिउँसो २ बजे लण्डन फर्केको विमानस्थल स्रोतले जानकारी दिएको छ ।
लण्डनबाट रित्तै काठमाडौँ आएको चार्टर विमानमा ६ शिशुसहित २ सय ४८ यात्रु रहेको बताइएको छ । चार्टर विमानमा बेलायती, पोल्याण्ड, पोर्चुगल, अमेरिका र सेन्ट लुसियाका नागरिक पनि छन् ।
चार्टर विमान बेलायती नागरिक लिन आउने भनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भने बिहान ९ बजेदेखि नै यी यात्रुहरुका लागि ‘चेकइन काउन्टर’ खुल्ला गराएको विमानस्थल प्रहरीले जनाएको छ ।