मुख्यमन्त्रीहरुको आक्रोसपछि काठमाडौँ उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द
लकडाउनका कारण राजधानी बाहिरको आफ्नो घर जान नपाएकाहरुलाई सम्बन्धित स्थानमा पुर्याइदिने आफ्नै निर्णयबाट सरकार पछि हटेको छ । यसअघि उच्चस्तरीय समन्वय समितिले उपत्यका बाहिर जान चाहनेहरुलाई सरकारले नै यातायातको साधन उपलब्ध गराउने निर्णय बिहीबार दिउँसो बसेको बैठकले गरेको थियो । उपत्यका बाहिर जाने सवारी साधनहरुलाई प्रहरीले स्कर्टिङ गर्ने निर्णयपनि भएको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबारको बैठकको निर्णयबाट सरकार पछि हटेको हो । सरकारले व्यवस्था गर्ने सवारी साधनहरु भोलि र पर्सी उपलब्ध हुने, उपत्यका बाहिर जाने व्यवस्था सरकारले गर्ने भए पनि उपत्यका फर्कन नपाइने निर्णय पनि समन्वय समितिले गरेको थियो ।
‘यसअघि भएको निर्णय तत्कालका लागि स्थगित भएको छ’ उपप्रधानमन्त्री पोखरेलका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले भने, ‘यो निर्णय कार्यान्वयन गर्दा झन् जोखिम बढ्ने विश्लेषणपछि उच्चस्तरीय समन्वय समितिले तत्कालका लागि यो निर्णय स्थगित गरेको हो ।’
प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पोडैल लगायतले उच्चस्तरीय समन्वय समितिको निर्णयप्रति सामाजिक सञ्जालबाट असन्तुष्टिसमेत पोखेका थिए ।
‘लकडाउन’ को अवधिमा यसरी उपत्यका छाड्न चाहनेहरुका लागि सरकारले यस्तो विशेष व्यवस्था गरे पनि त्यसले लकडाउनको निर्णयलाई कमजोर पार्ने भन्दै सत्तारुढ दलभित्रै असन्तुष्टि सिर्जना भएपछि सरकारले गठन गरेको समिति निर्णयबाट पछि हटेको हो ।