चीनद्वारा आफ्नो देश कोरोना सङ्क्रमण मुक्त भएको घोषणा, वास्तविक तथ्याङ्क नै लुकाएको आरोप
कोभिड-१९ को उद्गम मुलुक चीनले पहिलो पटक आफ्नो देश सङ्क्रमण मुक्त रहेको घोषणा गरेको छ ।
चीन सरकारले भने भाइरस विरुद्धको खोप समेत अर्को साताबाट प्रयोगमा ल्याउने गरी काम भइरहेको बताएको छ ।
तर चीनको महामारी निर्मूल भएको दावीप्रति केही विश्व संस्थाहरुले भने शङ्का व्यक्त गरेका छन् । कतिपयले चीनले वास्तविक तथ्याङ्क नै लुकाएको आरोप पनि लगाएका छन् ।
गत डिसेम्वर अन्तिम साताबाट मृत्युहरुको संख्या आइरहेको चीनले मंगलवार कुनैपनि नयाँ सङ्क्रमित नभेटिएपछि अब देश कोभिड-१९ सङ्क्रमण मुक्त भएको बताएको हो ।
त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले सोमवार ३२ जनामा सङ्क्रमण भेटिएको बताएको थियो । सङ्क्रमितहरु सबै बाहिरबाट आएकाहरुमात्रै भएपछि त्यहाँ अब भाइरस नियन्त्रणमा आएको बताइएको हो ।
चीन सरकारले कोभिड सङ्क्रमणबाट ३ हजार ३३१ जनाको मृत्यु भएको र ८१ हजार ७४० जना सङ्क्रमित भएको बताएको छ ।
आफ्नो देशमा महामारी नियन्त्रणमा आउन लागेदेखिनै चीनले भाइरस प्रभावित यूरोप र अमेरिकी लगायत मुलुकहरुमा चिकित्सक सहित औषधि एवम् औषधिजन्य सामग्रीहरु समेत पठाइरहेको छ ।
महामारी नियन्त्रणमा चीनले देखाएको तत्परता र प्रयासको विश्व स्वास्थ्य संगठनले पनि प्रशंसा गरेको छ ।