अस्पतालमै ओली-प्रचण्ड भेट : मुटुको धड्कन बढेर गएराति भर्ना भएका प्रधानमन्त्री डिस्चार्ज हुँदै
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अस्तालमा पुगेर भेटेका छन् ।
मुटुमा समस्या भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोलोजी अस्पतालमा भर्ना भएका ओलीलाई आज विहान भेटेका हुन् ।
भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले अस्पतालका चिकित्सकहरुसँग समेत उपचारपछिको अवस्थाबारे जानकारी लिएको बुझिएको छ ।
चिकित्सकहरुले ओलीको अवस्था सामान्य भएकाले आजै डिस्चार्ज गरिने जानकारी दिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।
२१ फागुनमा मृगौलाको प्रत्यारोपण गरेपछि ओली डिस्चार्ज भई विस्तारै सक्रिय हुनथालेका थिए । उनले तीनपटक मन्त्रिपरिषद् बैठक डाकिसकेका छन् । दुईपटक देशवासीका नाममा सम्बोधन गरेका छन् भने सार्क राष्ट्रहरुको भिडियो कन्फरेन्समा सहभागिता जनाएका छन् ।
आजै डिस्चार्ज हुने
अचानक मुटुको धड्कन बढेर गएराति मनमोहन अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य भएको चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आजै डिस्चार्ज हुने जानकारी गराएका छन् । प्रधानमन्त्रीका निजि चिकित्सक डा. दिव्यासिंह शाहको भनाई उदृत गर्दै थापाले सामाजिक सञ्जालमार्फत् अवस्था सामान्य भइसकेकाले आर्ज डिस्चार्ज गरिने जानकारी दिएका हुन् ।
थापाले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मुटुको धड्कन बढ्ने समस्या देखिएको हुनाले हिजो राती मनमोहन सेन्टर महाराजगंजमा भर्ना गरिएको छ ।
प्रधानमन्त्रीज्यूको स्वास्थ्य अवस्था सामान्य भइसकेको हुनाले आजै डिस्चार्ज गरिने उहाँका निजी चिकित्सक प्राडा दिव्यासिंह शाहले बताउनुभएको छ ।’
गएराति अचानक अस्प्ताल को स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । दोस्रो पटक २१ फागुनमा मृगौला प्रत्यारोपणपछि तंग्रिदै गरेका प्रधानमन्त्री ओलीलाई शरीरमा केही पीडा भएपछि अस्पताल लगिएको थियो ।
ओली पछिल्लो समय सक्रिय हुन थालेका थिए । उनलाई चिकित्सकले कम्तिमा केही महिना आराम गर्न सल्लाह दिएका थिए ।