प्रदेश १ स्थित वीपी प्रतिष्ठान धरानमा १३ जनामा कोरोनाको आशंका, ५ जना आइसोलेसनमा भर्ना
प्रदेश १ स्थित सुनसरीको धरानमा रहेको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको आशंकामा १३ जनाले स्वास्थ्य परीक्षण गराएका छन्।
बिपि प्रतिष्ठान धरानले भने कोरोनाको परीक्षण गर्ने ल्याब तयार गरिसकेको छ भने । सरकारले किट पठाएसँगै कोरोनाको परीक्षण गर्ने तयारी गरिएको छ।
स्वास्थ्य परीक्षण गराउनेमा चैत ४ गते कतार एयरवेजमा कोरोना संक्रमित युवतीसँगै प्लेनमा आएका तीन जना, इटहरीबाट एक जना, प्रदेश २ स्थित सिराहाको लाहानबाट १ जना, प्रतिष्ठानमै अध्ययनरत भारतीय विद्यार्थी २ जना, भारतको दिल्लीबाट आएका १ जना, भारतको केरेलाबाट आएका एक दम्पत्ती र चिनिया नागरिक गरी जम्मा १३ जना प्रतिष्ठानमा आइपुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा. विकास शाहले जानकारी दिए।
उनका अनुसार अहिले ५ जना प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिएको छ भने अरु ८ जनालाई मोरङको टाँडीस्थित क्वारेनटाइनमा रेफर गरिएको छ।
यसैबीच सरकारले कोभिड-१९ को परीक्षण अब धरानमै गर्ने निर्णय सरकारले गरेको छ। यो निर्णय कार्यान्वयनमा आउन केही दिन भने लाग्नेछ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा कोभिड-१९ को परीक्षा यथाशीघ्र सुरु गर्ने निर्णय गरेको हो।