कोरोना आशंकामा इनरुवाबाट धरान रेफर गरिएका बिरामी घर फर्किए
स्वास्थ्य परीक्षणकालागि इनरुवा अस्पतालबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएका दुई युवा घर फर्किएका छन् ।
इनरुवा अस्पतालले इनरुवा र चक्रघट्टी घर भएका दुई युवालाई थप स्वास्थ्य परीक्षणकालागि वीपी प्रतिष्ठान धरान रेफर गरेको थियो ।
युवाहरुले तय गरेको यात्राको आधारमा आवश्यक चेकजाँचकालागि इनरुवा अस्पतालले उनीहरुलाई धरान पठाएको थियो । भारतको पञ्जाब बाट घर फर्किएका दुवै युवा रक्सोल नाका हुँदै सुनसरी आइपुगेका थिए ।
इनरुवा अस्पतालका डा.सन्तोष राईले प्रारम्भिक स्वास्थ्य जाँच गरी थप उपचारकालागि धरान रेफर गरेका दुवै युवालाई वीपी प्रतिष्ठान धरानले अवस्था सामान्य भन्दै घरमै आराम गर्न भनि फर्काएको बुझिएको बताए ।
डा.राईले धरानले दुवैको अवस्था सामान्य रहेको भन्दै घरमै सेल्फ क्वारेन्टाइनमा बस्ने गरी फिर्ता पठाएको आफुकहाँ जानकारीमा आएको बताए । डा.राईले वीपीले विरामीको लक्षणका आधारमा थप परीक्षणको आवश्यक्ता नदेखिएकाले ज्वरोको औषधी दिएर घर पठाएको बुझिन आएको बताए ।
यता सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले समेत इनरुवाबाट धरान रेफर गरिएका युवा घर फर्कि सकेको बताएका छन् ।
पोखरेलले दुवै युवाको ज्वरो लगायत स्वासप्रश्वासको अवस्था परीक्षण गर्दा कोरोनाको लक्षणसँग मिल्दोजिल्दो नदेखिएकाले वीपीका स्वास्थ्यकर्मीले उनीहरुलाई फर्किन भनेको जानकारी दिए ।
धरानले घर जान भनेपछि दुवै युवा घर समेत फर्किसकेको पोखरेलले बताए ।
नोगेटिभ र पोजेटिभको अवस्था भन्दा पनि चिकित्सकहरुले भारतबाट यात्रा गरी आएकाले दुवै युवालाई सावधानीका साथ घरमै रहन भनेको सुनसरी प्रहरीले जनाएको छ ।
दुई युवा मध्ये इनरुवाका युवामा ज्वरो र खोकी देखापरेको थियो भने अर्का युवालाई सँगै यात्रा गरेको आधारमा परीक्षणकालागि अस्पताल पुर्याइएको थियो ।
धरान रेफर गर्दैगर्दा समेत इनरुवा अस्पतालले भारतबाट आएको व्यक्तिमा ज्वरो देखिएकाले सावधानी अपनाउँदै धरान रेफर गरिएको बताएको थियो ।
त्यसैपनि इनरुवा अस्पतालले सामान्य प्रकृतिका विरामीलाई समेत आवश्यक थप परीक्षण र उपचारकालागि भन्दै धरान र बिराटनगर लगायतका अस्पताल रेफर गर्ने गरेको छ ।