Logo
२ मंसिर २०८१, आईतबार
(March 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रोकिएन घोडेजात्रा : पाहुनाहरु बोलाइएन, इभेन्टहरु घटाइयो, ब्यारेकहरुमा लाइभ प्रसारण

चीनबाट फैलिएर विश्वब्यापी बनेको कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्षको घोडेजात्रा पर्व अतिथिहरुको उपस्थिति विना मनाइने भएको छ । घोडेजात्रामा हुने इभेन्टहरु पनि कटौती गरिएको छ ।

काठमाडौंमा उपत्यकामा मनाइने सांस्कृतिक पर्व घोडेजात्राको अवसरमा नेपाली सेनाले हरेक वर्ष टुँडीखेलमा विशेष समारोह आयोजना गर्दछ । कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, मन्त्रीहरु, कुटनीतिज्ञहरु, कर्मचारीहरुलगायतको उपस्थिति हुने गर्दथ्यो ।

तर, यस वर्षको घोडाजात्रा अतिथिहरुविना मनाउने नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने, ‘टुँडीखेलमा कार्यक्रमचाहिँ हुन्छ, तर बाहिरका कसैलाई पनि बोलाइएको छैन, सेनाको पनि सीमित व्यक्तिको मात्र उपस्थिति रहन्छ ।’

प्रवक्ता पाण्डेका अनुसार अघिल्ला वर्षको तुलनामा यस वर्ष इभेन्टहरु पनि घटाइएको छ । पाण्डेले भने, ‘पहिले २३ वटा इभेन्टहरु हुन्थे, अहिले घटाएर १५–१६ वटा जति इभेन्ट राखिएको छ ।’

यस वर्षको घोडेजात्रा पर्व चैत ११ गते मंगलबार परेको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिँदै आएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले २५ जनाभन्दा बढीलाई भेला हुन रोक लगाएका कारण सेनाले पनि घोडेजात्रा कार्यक्रम मनाउने शैलीमा फेरबदल गरेको हो । टुँडीखेलको कार्यक्रमको दृष्य स्याटेलाइटमार्फत् सेनाका ब्यारेकहरुमा लाइभ देखाइने प्रवन्ध मिलाइएको छ ।

प्रकाशित मिति: Mar 23, 2020

प्रतिक्रिया दिनुहोस्