मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले बोलाए पहिलो मन्त्रिपरिषद बैठक
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीले पहिलोपटक आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
बैठक अपरान्ह चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको छ ।
सरकारले अत्यावश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा छलफल गर्न मन्त्रिपरिषद बैठक बोलाइएको बताइएको छ ।
यसअघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । उक्त बैठकले कोरोना संक्रमण नेपालमा आउन नदिन सबै तयारी गर्न उपप्रधान मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।
हाल सोही समितिले सबै कार्ययोजना बनाएर काम गरिरहेको छ । मन्त्रिपरिषदको आजको बैठकमा उच्चस्तरीय समन्वय समितिले गरेको हालसम्मको कामको समीक्षा हुने बताइएको छ ।