Logo
४ आश्विन २०८१, शुक्रबार
(March 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

२४ घण्टामा एक लाख बढी मानिस बाहिरिए

गएको २४ घण्टामा काठमाण्डाैका विभिन्न नाकाबाट एक लाख आठ हजार चार सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो सङ्ख्या गएकाे बुधबारको भन्दा १३ हजार दुई सय ११ ले बढी हो । यस्तै काठमाण्डाै भित्रनेको सङ्ख्या भने घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाण्डाै आएका छन् । यो बुधबारकाे भन्दा १५ हजार सात सय ९५ जना कम रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

कोरोना भाइरस (काेभिड–१९) को जोखिमका कारण काठमाण्डाै उपत्यका छाड्नेको संख्या बढेको हो । दशै, तिहार र २०७२ सालको भूकम्पपछि पनि काठमाण्डनै छाड्नेको सङ्ख्या यसैगरी बढेको थियो ।

सरकारले पनि अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै आउँदो बिहिबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिएको छ । विभागले सूचना निकालेर कोरोना भाइरसको जोखिमका कारण लाइसेन्सको नयाँ दर्ता र वर्ग थप गर्ने काम अनिश्चितकालको लागि रोकिए पनि नविकरण तथा प्रतिलिपि दिने काम भने नियमित हुने जनाएको हो ।

प्रकाशित मिति: Mar 20, 2020

प्रतिक्रिया दिनुहोस्