मोरङ जिल्ला प्रशासनले दियो प्रत्येक नाकामा कडा निगरानी गर्न निर्देशन
प्रदेश नं १ स्थित मोरङमा कोरोनाको त्रास बढेसँगै प्रत्येक नाकामा कडा निगरानी गर्न मोरङ जिल्ला प्रशासन कार्यालय निर्देशन दिएको छ ।
मोरङ जिल्लाको भारतसँग जोडिएको सबै नाकामा हिजोदेखि कोरोना जाँच प्रक्रिया कडा गर्ने काम शुरु भएको सशस्त्र प्रहरी उपरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिएका छन् ।
रानी भन्सारमा हिजो मात्र १४ हजार मानिस भारतबाट नेपाल छिरेको र यतिका संख्यामा आउने मानिसलाई कोरोनाको जाँच गर्न राखिएको हेल्थ डेस्कबाट काम गर्न कठिनाइ भइरहेको पुग्नेगरी स्वास्थ्यकर्मी, उपकरण र सामग्री व्यवस्था हुनुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए ।
यो मोरङकै सबै भन्दा बढी मानिस ओहोरदोहोर गर्ने नाका हो । उनले नेपाल–भारत ओहोरदोहोर गर्ने सीमावर्ती नाकामा सुरक्षाकर्मीसहितको स्वास्थ्य टोलीबाट कोरोना जाँच शुरु गरेको र कतिपय मानिस जाँच गर्न नमानेर भाग्न खोज्दा पक्रेर जाँच गराइरहेको उपरीक्षक कार्कीले जानकारी दिए ।
मोरङको सीमासँग जोडिएको गाउँपालिका र नगरपालिकाका प्रमुख एवं प्रशासकीय अधिकृतलाई सीमा क्षेत्रमा जाँच गर्ने व्यवस्था मिलाउन र सो सम्बन्धमा जनचेतना एवं जागरण हुने सूचना प्रवाह गर्न निर्देशन दिइएको छ ।
कोरोना भाइरसको त्राससँगै बजारमा हुने कालोबजारीतर्फ प्रशासनको विशेष ध्यान गएको र जनतालाई दैनिक आवश्यकपर्ने उपभोग्य सामग्री उपलब्ध गर्न सम्बन्धित कार्यालयलाई अनुगमन गर्न निर्देशन दिएको निमित्त प्रजिअ केशरीले जानकारी दिए ।