Logo
४ आश्विन २०८१, शुक्रबार
(March 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

वैदेशिक रोजगारकालागि खाडी पुगेका नेपालीलाई घर फर्कनै समस्या

कतारबाट घर फर्कने तयारीमा रहेका काभ्रेका महेश्वर नेपालको टिकट निश्चित भइसकेको छैन । ६ वर्षदेखि कतार एयरवेजमा कार्यरत उनको बिहीबार करार अवधि सकिएको छ ।

‘कम्पनीले अझै हिसाबकिताब फाइनल गरिसकेको छैन, मैले लिनुपर्ने हिसाबकिताब भोलि दिउँसोसम्म सकिएन भने स्वदेश फर्किने योजना तत्कालका लागि रोकिने सम्भावना बढ्यो,’ दोहास्थित आफ्नो कोठामा बसिरहेका नेपालले टेलिफोनमा भने ।

सरकारले बिहीबार राति १२ बजेदेखि वैशाख ३ गते सम्म कोभिड–१९ को संक्रमण फैलिएका खाडी क्षेत्रका सहित सबै मुलुकबाट हुने आवतजावतमा प्रतिबन्ध लगाएको छ । वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा रहेका नेपाली कामदार शुक्रबार बिहानबाट नेपाल आउन पाउने छैनन् ।

बिदा वा करार अवधि समाप्त गरेर स्वदेश फर्कने तयारीमा रहेका नेपाली कामदार वैशाख ३ सम्म सम्बन्धित देशमै बस्नुपर्नेछ । ‘म बिदामा आउने तयारी गर्दै थिएँ, यो निर्णयले मेरो यात्रा रद्द हुने भयो,’ संयुक्त अरब इमिरेट्स ९यूएई० मा कार्यरत स्याङ्जाका लक्ष्मण खनालले भने ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अनुसार सामान्य अवस्थामा दैनिकजसो ८ हजार यात्रु नेपाल आउने गरेका थिए । जसमा झन्डै ३५ सय नेपाली हुन्थे । विभिन्न देशमा कोरोनाको संक्रमण देखिन थालेपछि भने यो संख्या घटेको छ । गत फागुन १८ देखि चैत ४ सम्म ५० हजार ८ सय ७० नेपाली त्रिभुवन विमानस्थलको अध्यागमनबाट भित्रिएका छन् । जसमा ११ हजार ९ जना महिला छन् ।

साउदी अरब, कुवेत, ओमानले उडान बन्द गरेपछि ती मुलुकबाट आउने नेपाली कामदार रोकिएका छन् । कतार एयरवेजको उडान नियमित छ । बुधबार बेलुका ६ बजेसम्म १५ सय ४५ जना नेपाली स्वदेश फर्केका छन् । जसमा ४ सय ९२ जना महिला छन् ।
कान्तिपूरका अनुसार कतार, कुवेत, साउदी अरब, यूएई, ओमान, बहराइन र मलेसियाले भीडभाड रोक्न कडा कदम चालेका छन् । यी देशमा कोरोना संक्रमण हुनेको संख्या हरेक दिनजसो बढिरहेको छ ।

कतारमा झन्डै ३ लाख ५१ हजार कार्यरत छन् । कुवेतमा ७० हजार, साउदी अरबमा तीन लाख ५० हजार, यूएईमा दुई लाख ५० हजार, ओमानमा १५ हजार, बहराइनमा ३० हजार र मलेसियामा दुई लाख २५ हजार नेपाली रहेका छन् ।

प्रकाशित मिति: Mar 19, 2020

प्रतिक्रिया दिनुहोस्