कोरोना नियन्त्रणका लागि नेपाल सहित दक्षिण–पूर्वी एसियमा तत्काल कदम चाल्न आवश्यक : WHO
बर्तमान समयमा कोरोना भाइरस विश्वमाहामारीको रुप लिइरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले दक्षिण–पूर्वी एसियामा पनि यसको संक्रमण नियन्त्रणका गर्न तत्काल कदम चाल्न आबश्यक रहेको बताएको छ ।
विश्व स्वास्थ्य संगठनले यस अघि कोरोना माहामारीको केन्द युरोप भएको बताउदै आएको थियो तर अहिले एसियापनि सङ्कटमा पर्दै गएको भन्दै दक्षिण–पूर्वी एसियामा तत्कालै प्रभावकारी कदम चाल्नुपर्ने बताइएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म दक्षिण–पूर्वी एसियाका ८ देशमा कोरोनाको संक्रमण देखिएको छ भने नेपालमा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भए पनि उनी पूरै निको भएको पनि डब्ल्यूएचओले जनाएको छ ।
त्यस्तै थाइल्याण्डमा एक सय ७७, इन्डोनेसियामा एक सय ३४, भारतमा एक सय २५, श्रीलङ्कामा १९, माल्दिभ्समा १३, बङ्गलादेशमा ५ र भुटानमा १ जनामा संक्रमण देखिएको छ ।
नेपाल सहित एसियाका थाइल्याण्ड, इन्डोनेसिया, भारत, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश र भुटानमा कोरोनाको संक्रमण यसअघि भेटिएकाले रोकथामको लागि तत्काल कदम चाल्न डब्ल्यूएचओले चेतावनी समेत दिएको हो ।
अहिलेसम्म एक सय ६५ देश १ लाख ९८ हजार ४ सय २२ जनामा संक्रमण भएकोमा ८२ हजार ७ सय ६२ जना उपचारपछि निको भएका छन् । सात हजार ९ सय ८७ जनाको ज्यान गइसकेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण चीनमा नियन्त्रणतिर गइरहेको बेला विश्वका अरु देशमा फैलने क्रम तीव्र बनेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
‘संक्रमण फैलिने क्रम तीव्र बनेको छ । थप अन्य व्यक्तिमा संक्रमण हुन नदिन तत्काल पहल गर्नुपर्छ’, विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एसियाका क्षेत्रीय निर्देशक डाक्टर पूनम क्षेत्रपाल सिंहले भनिन् ।
यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्य राष्ट्रबाहिरका देशहरुको लागि ३० दिनको प्रतिबन्ध लगाएको छ ।