भारतबाट हुने इन्धन आयातमा छैन कोरोना भाइरसको असर : निगम
वीरगन्ज : भारतबाट हुने इन्धन आयातमा कोरोना भाइरसको कुनै पनि असर नपरेको नेपाल आयल निगमले जनाएको छ ।
आमजनमानसमा केरोनाको त्रास बढिरहेका बेला नेपाली बजारमा माग र खपतको अनुपातमै भारतबाट इन्धनको आयात भइरहेको निगमले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाको उच्च जोखीममा नेपाललाई पनि राखेपछि त्यसैको अनुचित फाइदा उठाउन व्यपारीले बजारमा अत्यावश्यक वस्तुको कृत्रिम अभाव सृजना गरेका छन् ।
खपतको अनुपातमै इन्धन आयात भैरहे पनि केहि दिन यता पेट्रोल पम्पहरूमा उपभोक्ताको लामो लाइन देखिँदै छ । ग्यास पनि नपाएर उपभोक्ता रित्तो सिलिण्डर बोकेर डिलर र पसल चहार्दै हिँडिरहेका छन् ।
तर नेपाल आयल निगम भने माग र खपतको अनुपातमै भारतबाट डिजेल, पेट्रोल र ग्याँसको सहज आयात भइरहेको बताउँछ । निगमका अनुसार गत फागुन २५ देखि चैत ३ सम्म ९ दिनको अवधीमा मात्रै भारतबाट वीरगन्ज नाका हुँदै १ करोड ८८ लाख ३६ हजार लिटर पेट्रोल नेपाल भित्रिएको छ ।
९ दिनकै अवधीमा ४ करोड ५ लाख ४ हजार लिटर डिजेल वीरगन्ज नाका हुँदै आयात भएको छ । पछिल्लो ९ दिनको अवधीमा ८४ लाख ९५ हजार ४ सय ५० केजी एलपी ग्याँस पनि वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको आयल निगमले जनाएको छ ।
वीरगन्जमा रहेको नेपाल आयल निगम शाखाका प्रमुख रामकुमार न्यौपानेका अनुसार, फागुन २५ देखि चैत ३ सम्म ९ दिनको अवधीमा वीरगन्ज नाका हुँदै ५ सय १५ टयाङकर पेट्रोल, ८ सय ३१ टयाङकर डिजेल र ४ सय ७७ बुलेट ग्यास नेपाल भित्रिएको हो ।
नेपालमा कुल खपत हुने इन्धनको ७० प्रतिशत इन्धन वीरगन्ज नाका हुँदै भारतबाट आयात हुने गरेको छ । आयल निगम वीरगन्ज शाखाका प्रमुख न्यौपानेले कोरोना संक्रमणले भारतबाट इन्धनको आयातमा अहिलेसम्म कुनै असर नपरेको बताए ।
सामान्यता वीरगन्ज नाका हुँदै दैनिक औसतमा पेट्रोल र डिजेल गरी १२० ट्याङकर आयात हुने गरेको छु, उनले भने, ‘अहिले कोरोना संक्रमणको त्रास बढेका बेला पनि त्यहि परिमाणमा ती दुवै इन्धन आयात भइरहेकै छ, कुनै अवरोध र असर परेको छैन ।
यस्तै खाना पकाउने एलपी ग्याँस पनि साविककै परिमाणमा दैनिक ५० देखि ५५ बुलेट वीरगन्ज नाकाबाट आयात भइरहेको उनले बताए।