संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको : प्रदेश सभामुख भण्डारी
प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले संसद् विधि, परम्परा, सहमति र अभ्यासबाट चलिरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिका पदाधिकारीहरुसँगको भेटघाटको अवसरमा सभामुखले सो कुरा बताएका हुन् ।
सो अवसरमा महासङ्घका उपाध्यक्ष विपुल पोखरेल, सचिवद्वय शितलप्रसाद महतो र रामप्रसाद दाहाल सहभागी भएका थिए । सञ्चार सम्बन्धमा बन्ने कानूनप्रति सभामुखको ध्यानाकर्षण गराउने उद्देश्यले भएको सो भेटमा सभामुख भण्डारीले यस प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने विधेयक सञ्चारमैत्री हुने विश्वास दिलाए ।
उनले जनतालाई सुसूचित एवं सचेतना गर्ने सञ्चारकर्मीको अधिकारलाई खुम्च्याउने सोच नरहेको प्रष्ट पारे । सभामुख भण्डारीले संसद् व्यवस्थित रुपमा सञ्चालन भइरहेको र प्रदेश नं-१ को राजधानी विराटनगर कायम भइसकेको जानकारी दिँदै सम्भवतः चालु अधिवेशनबाटै प्रदेशको नामकरण हुने प्रस्ताव संसद् पेश हुने विश्वास दिलाए ।
उपाध्यक्ष पोखरेलले राजनीतिक दलहरुले निर्वाचनको समयमा जारी गरेका घोषणापत्रसँग सम्बन्धित रहेर कानून निर्माण गर्न सकेमा आमजनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सचिव महतोले प्रदेश नं १ मा सञ्चार सम्बन्धमा बन्ने कानून अरु प्रदेशको लागि प्रेरणा बन्न सकोस् भने । अर्का सचिव दाहालले प्रदेशमा सञ्चार सम्बन्धमा बन्ने कानून सञ्चारमैत्री हुनुपर्ने भन्दै सरकारले कानून निर्माण गर्दा अन्तरराष्ट्रिय सन्धि, सम्झौता, संविधानमा भएको प्रावधान र अधिकार उपभोगमा सङ्कुचन नहुनेतर्फ केन्द्रित रहनुपर्ने कुरामा जोड दिए ।