अहिलेसम्म नेपालमा कसैलाई कोरोना देखिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं : नेपालमा हालसम्म कोरोना भाइरस संक्रमित बिरामी नभेटिएको संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यस्तो उल्लेख गरेको हो। दुई महिनाअघि गरिएको परीक्षणका क्रममा एकजनामा कोरोना संक्रमण देखिएको थियो ।
तर ती व्यक्तिलाई चाँडै नै निको भएको थियो। हालसम्म ४ सय ७८ को परीक्षणमा नेपालमा ४ सय ७८ जना शंकास्पद बिरामीको ल्याब परीक्षण गरिएको छ। ती सबैमा कोरोना भाइरस नेभेटिभ देखिएको मन्त्रालयले जनाएको छ।
प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले भने, ’परीक्षण गरिएका ती सबैको रिपोर्ट नेगेटिभ आएको छ, गएराति काठमाडौं लगायत विभिन्न अस्पतालबाट ६ जना शंकास्पद बिरामीको ल्याब परीक्षणका लागि नमुना ल्याइएको छ। उनीहरुको रिपोर्ट बेलुकासम्म आउँछ।’
यस्तै हिजो कोरोना भाइरसको आशंकामा विराटनगरबाट ग्रान्डी अस्पतालमा रिफर गरिएका बिरामीमा समेत नेगेटिभ रिपोर्ट देखिएको थियो । यस्तै कोरोना भाइरसको आशंकामा विभिन्न अस्पतालमा भर्ना भएका ११ जनाको परीक्षण रिपोर्ट पनि नेगेटिभ आएको छ।
काठमाडौँको टेकु र पाटनसहित पोखरा, चितवन, नेपालगन्ज, धनगढी, लुम्बिनीका विभिन्न अस्पतालका आइसोलेसन वार्डमा भर्ना भएका शंकास्पद बिरामीको गत शनिबारबाट टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।
‘अस्तिदेखि परीक्षणमा राखेका थियौँ, हिजो राति १० बजे रिपोर्ट आयो तर सबै नेगेटिभ छ, आज राति आएको केसको भने रिपोर्ट आउन बाँकी छ.’ प्रयोगशालाका सूचना अधिकारी गुप्ताले भने।
चीनबाट सुरु भएको कोरोनाको प्रकोप अहिलेसम्म संसारका १ सय ४९ वटा देशमा फैलिएको छ। महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हाल विश्वका १ सय ५६ देशमा फैलिसकेको छ । यसबाट ६ हजार ६८ जनाले ज्यान गुमाइसकेका छन् ।