भोजपुर जिल्ला अदालतले गर्यो हत्या अभियोगमा २ जानालाई जन्मकैद
प्रदेश नं १ स्थित भोजप्र जिल्ला अदालतले हत्या गरेको अभियोगमा २ जनालाई जन्मकैदको फैसला सुनाएको छ । अदालतले टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भीमबहादुर कार्कीलाई जन्मकैदको फैसला गरेको हो ।
अभियुक्तद्वयले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदी घर भएकी ४८ वर्षीया भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ ।
उनीहरुलाई जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोही ऐनको १७७ (२) बमोजिम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु ५० हजार क्षतिपूर्ति भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।
उनीहरुले सामान्य विवादपछि उल्टो पट्टिबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको आठ दिनपछि गत साउन १६ गते पक्राउ गरेको थियो ।