Logo
११ माघ २०८१, शुक्रबार
(March 13, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमै पहिलो पटक अकुत सम्पत्ती अभियोगमा सञ्जय ‘टकला’ को पुरै परिवारलाई जेल सजाय

ज्यान मुद्दामा जेलमा रहेका पूर्व राज्यमन्त्री सञ्जय कुमार साह ‘टकला’ समेत उनका पिता, पत्नी, भाई समेत सहयोगीहरुलाई जेल सजाय भएकोछ ।

विशेष अदालतले विहिवार गरेको फैसलामा साहलाई ५ वर्ष कैद, उनकी पत्नी रंगीला देवी साहलाई अढाई वर्ष, पिता साधुशरण साह सुडीलाई अढाई वर्ष र भाई रामकुमार साहलाई डेढ वर्ष कैद सजाय सुनाएकोछ ।

त्यसैगरि साहका तत्कालिन सहयोगीहरु छेदी राउत र सुजीत पाण्डेलाई अढाई/अढाई वर्ष कैद सजाय सुनाएकोछ ।

विशेष अदालतले हाल सम्म गरेको फैसलामा राजनीतिकर्मी एकै परिवारका दाजुभाई, पिता, पत्नीलाई अकुत सम्पत्ती राखेको अभियोगमा जेल सजाय गरेको संभतः यो नै पहिलो हो ।

सम्पत्ती शुद्धिकरण सम्बन्धी मुद्दाको फैसलामा साह सहितलाई १९ करोड बिगो र उतिकै जरिवानाको फैसला भएको छ ।

सम्पत्ती शुद्धिकरण विभागले साहमाथि ३२ करोडको विगो र उतिके जरिवानाको माग गरेको थियो ।

अदालतका प्रवक्ता पुष्प पाण्डेयका अनुसार मुद्दामा आशिंक सजाय भएकोछ । ‘साहको मुद्दामा माग दावी अनुसारको फैसला आएको छैन्’ उनले भने, अदालतले आशिंक जरिवाना र कैद गरेकोछ ।

साह बिरुद्ध सम्पत्ती शुद्धिकरण विभागले २०७४ साल चैत १६ गते मुद्दा दायर गरेको थियो । त्यस अघि नै २०७३ साल पुस २५ गते अख्तियारले भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायधिशहरु कृष्ण गिरि, शान्तिसिंह थापा र चन्द्रबहादुर सारुको संयुक्त इजलासले साह, उनका पिता, पत्नी, भाई र तत्कालिन सहयोगीहरुलाई कैद र जरिवानाको सजाय सुनाएकोछ ।

यस अघि फागुन १५ गते विशेष अदालतले उनलाई भ्रष्टाचारी ठहरगर्दै ४ वर्ष कैद सजायको फैसला सुनाएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा साहलाई भ्रष्टाचारी ठहरगर्दै साढे १९ करोड बिगो र उतिकै जरिवानागरि करिब ३८ करोडको बिगो जफ्त हुने फैसला अदालतले गरेको थियो ।

अख्तियारले साढे ३१ करोड र सम्पत्ती शुद्धिकरणले ३२ करोड सम्पत्तीको स्रोत नखुलेको दावीगर्दै मुद्दा दायर गरेको थियो । सो मुद्दामा उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई सजाय भएको थिएन् ।

सम्पत्ती शुद्धिकरणको मुद्दा बाहेकमा साह बाहेकका सदस्यहरुलाई सजाय भएको थिएन् । अख्तियारलेपनि उनकी आमा दुलारी देवी सुडी, पिता साधु साह सुडी, पत्नी रंगीला देवी, भाई रामकुमार साह समेतमाथि मुद्दा गरेको थियो ।

तर त्यसमा साह बाहेक अन्यलाई सजाय भएको थिएन् । साह, उनका पिता साधु साह सुडी, पत्नी रंगीला देवी र भाई रामकुमार साहको नाउँमा रहेका सम्पूर्ण सम्पत्ती रोक्का रहेकोछ ।

विशेष अदालतको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिन जरिवाना भएको बराबरको धितो राखेर मात्र जान पाउने प्रावधान रहेको कानुन व्यवसायीहरु बताउँछन् ।

सञ्चार उद्यमी अरुण कुमार सिंघानियाको हत्या र रामानन्द चोक बम काण्ड मुद्दामा धनुषा जिल्ला अदालतबाट साहलाई जन्मकैदको सजाय भएकोछ ।

काठमाण्डु जेलमा रहेका साहका लागि फागुन महिनामा १५ दिन भित्र आएको विशेष अदालतको दुईवटा फैसलाले थप जेल सजाय भएकोछ । धनुषा जिल्लाको सहरी निर्वाचन क्षेत्र जनकपुरधामबाट उनी दुवै संविधान सभामा निर्वाचित भएका थिए ।

पहिलो संविधान सभा चुनावमा उनले तत्कालिन नेकपा एमालेका नेता रघुबीर महासेठ र दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामसरोज यादवलाई पराजित गरेका थिए ।

तत्कालिन नेकपा एमालेका नेता माधवकुमार नेपालको सरकारमा सञ्जय साह लोकतान्त्रिक फोरमबाट भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री थिए ।

लोकतान्त्रिक पार्टीका अध्यक्ष विजय कुमार गच्छदार मन्त्री थिए । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दामा परेका गच्छदारसँगै प्रहरीले दायर गरेको मुद्दामा साहको नामपनि समावेश गरिएकोछ ।

प्रकाशित मिति: Mar 13, 2020

प्रतिक्रिया दिनुहोस्