फुटपछि फेरि जुट्यो राप्रपा, कमल थापाको प्रतिबद्धतालाई गडगडाहट तालीले स्वागत
काठमाडौं : राप्रपा र राप्रपा संयुक्तबीच फेरि एकता भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमार्फत दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएसँगै बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो ।
एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ ।
‘नेताले मात्र होइन, पार्टी फुटाउँदिन भनेर सबै कार्यकर्ताले प्रतिवद्धता जनाउनुपर्छ’, घोषणासभालाई सम्बोधनका क्रममा भगवत गीतको पुस्तक खल्तीबाट निकाल्दै थापाले भने, ‘पार्टीलाई माया गर्ने साथीलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं । म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेनरु मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन।’
थापाले अब कहिल्यै पार्टी नफुटाउने प्रतिवद्धता जनाउँदा हलमा गडगडाहट ताली बजेको थियो। गीताको पुस्तक समाएका थापाले अर्का दुई अध्यक्ष पशुपति शम्शेर जबरा र डा। प्रकाश चन्द्र लोहनीलाई समेत चाहिन्छ भन्दै त्यही छोडेका छन् ।
दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइनेछ । पूर्वपञ्चहरुको बाहुल्य रहेको दुई राप्रपा २०७३ मङ्सिरमा एकीकृत भएपछि फेरि फुट्न पुगेका थिए ।