लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट
काठमाडौं : भक्तपुरको लोकन्थलीस्थित पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थल पूर्वमन्त्री बाँस्कोटाको घरमा पुगिसकेको छ।
घरको पूर्वतर्फको पर्खालमा राखिएको बम विस्फोट हुँदा गेटमा क्षति पुग्नुका साथै झ्यालको सिसा पनि फुटेका छन् ।
घटनाबारे अनुसन्धान भइरहेकाले ठिमी वृत्तका डीएसपी शान्तिराज कोइरालाले अहिले केही नबोल्ने बताए। घटना कसले गरायो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
घटना प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ।