कम्युनिष्टको भविष्य सकियो, अर्को निर्वाचनमा देश नयाँ ध्रुवीकरणमा जान्छ : बाबुराम भट्टराई
काठमाडौं : समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।
पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू समायोजन घोषणा कार्यक्रममा उनले दुईतिहाइको बहुमत प्राप्त सरकारले सामाजिक , राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्ने गरी काम गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनलगायत क्षेत्रमा सरकारले गर्न सक्ने कामसमेत नगरेको उल्लेख गर्दै भट्टराईले गर्न नहुने कामहरू भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै-झगडाका कामहरू गरेको आरोप लगाए । उनले अहिलेको सरकारको भविष्य सकिएको पनि बताए ।
सत्तारुढ दलभित्र भागबन्डाको लडाइँ सुरु भएको उल्लेख गर्दै भट्टराईले अर्को निर्वाचनमा देश नयाँ ध्रुवीकरणसम्म जाने भएकाले त्यसको तयारीमा लाग्न जिल्ला कमिटीहरूलाई निर्देशनसमेत दिए ।
समाजवादी पार्टीलाई देशको विकल्पका रूपमा अगाडि बढाउन नसके पनि परिवर्तनको प्रक्रिया नरोकिने र अर्को कुनै शक्ति आएर यसलाई अगाडि बढाउने उनले बताए ।
तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू शुक्रबार समायोजन गरिएको छ ।