कोरोनाको जस्तै अर्थतन्त्रमा पनि पहिले लक्षण मात्रै देखिन्छ : अर्थमन्त्री
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाले अर्थतन्त्रमा पर्ने प्रभावको विषयमा मन्त्रालयले समिति नै बनाएर अध्ययन सुरु गरेको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिमेवारी सम्हालेका अर्थमन्त्री खतिवडाले सरकारको नियमित पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।
सम्मेलनको क्रममा सञ्चारकर्मी माँझ मन्त्री खतिवडाले अहिले अर्थतन्त्रमा लक्षण मात्रै देखिएको भन्दै, उनले त्यसको असरपछि मात्रै देखिने बताए ।
“जसरी कोरोनाको पनि सुरुमा लक्षण मात्रै देखिन्छ, त्यसरी नै अर्थतन्त्रमा पनि पहिले लक्षण मात्रै देखिने हो,” उनले भने, “पर्यटन, व्यापार, लगानी अवसर र विदेशी कामदार भएको ठाउँमा निमार्ण कार्यबाट र कतिपय बजारको आपूर्तिसँग सम्बन्धित विषयमा प्रभाव पर्ने कुरा अनुमान गर्न सकिन्छ ।”
भ्रमण वर्ष कसरी अगाडि बढाउने भन्ने विषय कोरोनाको संक्रमण विश्वव्यापी रूपमा कसरी हल हुन्छ त्यसैको आधारमा तय हुने उनले बताए ।
आफूले सेक्युरिटी प्रेस प्रतिस्पर्धा र प्रचलित कानुनबाट मात्रै खरिद हुने बताएको तर त्यसको प्रक्रिया भने सुरु भइनसकेको मन्त्री खतिवडाले बताए ।